Skip to main content

मिडिया प्रतिबन्धपछि ह्वाइट हाउसले ट्रम्प टिभी सञ्चालन गर्न थाल्यो

अमेरिकी ह्वाइट हाउसले सोमबार ट्रम्प टिभी सञ्चालन गर्ने घोषणा गरेको छ। यो डिजिटल नेटवर्कले ट्रम्प प्रशासनसँग सम्बन्धित सामग्रीहरू २४ सै घण्टा प्रसारण गर्नेछ। ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि अन्य अमेरिकी टेलिभिजन नेटवर्कहरूले ह्वाइट हाउसको साझा कभरिङ रोकेका छन्। सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ट्रम्प प्रशासनविरुद्ध अमेरिकी संघीय अदालतमा मुद्दा दर्ता गरी पहुँच पुनः बहाली र छिटो सुनुवाइको माग गरेका छन्।

सेप्टेम्बर १८ मा ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोमाथि ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए। उनले यी सञ्चारमाध्यममाथि गलत समाचार फैलाएको आरोप लगाउँदै अन्य मिडिया हाउसहरूलाई पनि कारबाहीको चेतावनी दिएका थिए। यस प्रतिबन्धको विरोधमा अमेरिकी टेलिभिजन नेटवर्कहरूले ट्रम्पको प्रत्यक्ष प्रसारण रोकिदिएका छन्। हालैको ह्वाइट हाउस नयाँ हेलिप्याड उद्घाटनको पनि प्रत्यक्ष प्रसारण गरिएको छैन।

ह्वाइट हाउसले सोमबार नयाँ हेलिप्याड उद्घाटन कार्यक्रम सम्पन्न गर्यो। साधारणतया यस्ता कार्यक्रमहरूको भिडियो कभरिज टेलिभिजन नेटवर्कहरूले गरिरहेका हुन्थे, तर यसपटक उनीहरूले साझा कभरिज रोकेपछि ह्वाइट हाउसले आफैं भिडियो जारी गर्नुपर्‍यो। कार्यक्रम स्थलमा टेलिभिजन नेटवर्कका क्यामरा र माइक्रोफोन थिएनन्, जसका कारण ट्रम्पको आवाज प्रष्ट सुनिँनसकेको थियो। अब यस्ता कार्यक्रमहरूको कभरिजका लागि ह्वाइट हाउससँग आफ्नै डिजिटल प्लेटफर्म तयार भएको छ, जसलाई ट्रम्प टिभी मार्फत प्रसारण गर्न सकिनेछ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले पनि सोमबार ह्वाइट हाउसको फोटो पुलबाट प्राप्त तस्बिरहरू प्रकाशन र सेयर नगर्ने निर्णय गरेको छ। अखबारले ह्वाइट हाउसबाट निकालिएका पत्रकारहरूको समर्थनमा यस्तो कदम चालिएको जनाएको छ। तर सरकारले गर्ने कामहरूको स्वतन्त्र मिडिया समीक्षाका लागि ट्रम्पको न्युयोर्क भ्रमणको स्वतन्त्र कभरिज जारी राख्ने स्पष्ट पारेको छ। ट्रम्पले सन् २०१६ देखि नै सीएनएनका समाचारलाई ‘फेक न्यूज’ भनेर आलोचना गर्दै आएका छन्।