किङ काजु: ५९ वर्षको उमेरमा गोल गर्ने विश्वकै सबैभन्दा पाका व्यावसायिक फुटबल खेलाडी

विश्वकै सबैभन्दा उमेर पुगेका व्यावसायिक फुटबल खेलाडी काजुयोशी मिउराले ५९ वर्षको उमेरमा जापानको तेस्रो डिभिजनमा गोल गरेका छन्। उनी जापानका पूर्व राष्ट्रिय खेलाडी हुन्। ‘फुकुशिमा यूनाइटेड’बाट खेलिरहेका मिउराले चार वर्षपछि शनिबार फेरि गोल गरेका हुन्। फुकुशिमा यूनाइटेडले ‘एम्पेरर्स कप’ अन्तर्गत भएको खेलमा ‘इवाकी फुरुकावा’लाई ७-० को फराकिलो अन्तरले हराएको थियो। त्यस क्रममा मिउराले ५२ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ५-० को स्थितिमा पुर्याएका थिए।
नोभेम्बर २०२२ मा सुजुका पीजी (हालको एट्लेटिको सुजुका) बाट एफसी ओसाकाविरुद्ध गोल गरेयता प्रतिस्पर्धात्मक खेलमा यो उनको पहिलो गोल हो। जापानमा ‘किङ काजु’ उपनामले चिनिने मिउरा देशका सर्वाधिक मन पराइएका खेलाडीहरूमध्ये एक हुन्। सन् १९९३ मा जे-लीग सुरु हुँदा उनी लीगका महत्वपूर्ण खेलाडी थिए। उनले सन् १९८६ मा ब्राजिलको सान्तोस क्लबबाट आफ्नो खेल जीवन सुरु गरेका थिए।
उनी आफ्नो टोलीबाट अग्रपंक्तिमा खेल्छन्। जेटू लीगको योकोहामा एफसीबाट फुकुशिमासँगको सम्झौतासमेत अझै बढाएर जुन २०२७ सम्म पुगेपछि उनी आफ्नो खेल जीवनको ४२ औं सिजनमा खेल्ने छन्। मिउरा सन् २००५ मा योकोहामामा अनुबन्धित भएका थिए। तर सन् २०२० यता उनले टोलीका लागि एक मिनेट पनि खेलेका छैनन्। मिउराले जापानका लागि ८९ खेलमा ५५ गोल गरेका थिए।






