
रास्वपा वरिष्ठ नेता बालेन शाह आज सिंहदरबार प्रवेश गर्दै नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्न लागेका छन्। बालेनसँग दुईतिहाइ निकट बहुमत छ र उनले संविधानको मर्म अनुसार सुशासन र समुन्नतिको आधार तयार पार्ने जिम्मेवारी पाएका छन्। रास्वपा सभापति रवि लामिछानेले बालेनलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रोजेक्ट गरेका थिए र दुवैबीच सहकार्य टिकाउने चुनौती छ। नेपालको इतिहासमा कान्छामध्येका एक प्रधानमन्त्रीका रूपमा बालेन शाह आज सिंहदरबार प्रवेश गर्दैछन्। राष्ट्रको प्रमुख कार्यकारी पद र उनको व्यक्तिगत कद परस्परमा यसरी मिसिएका छन् कि, नागरिकसामु अपेक्षाको चरमचुली निर्माण भएको छ। २१ फागुनको चुनावमार्फत मुलुकले दिलाएको ऐतिहासिक मतादेश, अनि इतिहासका ठूला संघर्ष र आन्दोलनहरूको मूल्यमा प्राप्त संविधानको जनादेशलाई एकआपसमा तालमेल मिलाउँदै लैजानु नयाँ प्रधानमन्त्री बालेनको मुख्य जिम्मेवारी हुनेछ।
बालेनसँग दुईतिहाइ निकटको बहुमत छ, जसको अर्थ संविधानको मर्म अनुसार सुशासन र समुन्नतिको आधार तयार पार्ने हो। किनभने यो संविधानमा ती पात्रको मात्रै छाया देखिंदैन, जसले विगतमा यसलाई जारी गरेका थिए, अनि बालेन र रास्वपाले तिनलाई चुनावमार्फत भर्खरै ठूलो मतान्तरमा पराजित गरेका छन्। यो संविधानमा ती पात्रको छाया देखिन्छ, जो युगौंसम्म बहिष्कृत, वञ्चित र निर्बलिया थिए। इतिहासका ठूला जनादेशले संघीय संविधानको समावेशी मर्मलाई स्मरण गराइरहन्छन्। चुनावको मतादेशले सुशासन र डेलिभरी, रोजगारी र आर्थिक अवसर सिर्जनाको स्मरण गराउँछन्। रास्वपाको वाचापत्रमा लेखिएका आह्वानहरूले अब कस्तो आकार लिन्छन्, सबैको चासो छ।
स्मरणरहोस्, इतिहासको जनादेश र चुनावको मतादेशमध्ये कुनै एकलाई उपेक्षा गर्न सम्भव देखिंदैन। यो तथ्य बालेन, उनको मन्त्रिपरिषद् र रास्वपाले हरेक दिन हेक्का राख्दै अघि बढ्नुपर्नेछ। इतिहासको यो विशेष घडीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले दश वर्षअघि जारी गरेको संविधानको भरपर्दो कार्यान्वयन र समयानुकूल संशोधनको खाँचो अझ बढी महसुस भएको छ। एउटा कलाकारका रूपमा बालेनले विगतमा वञ्चितहरूका पक्षमा गीत बनाएका छन्, कविता लेखेका छन्। २३ र २४ भदौको जेनजी आन्दोलनका बेला नै प्रधानमन्त्रीका रूपमा बालेनको खोजी भएको थियो।
आजै अधिकांश मन्त्रीहरूको नियुक्ति र शपथग्रहण तयारी छ। योग्य र नागरिक उत्तरदायित्व बहन गर्न सक्ने पात्रहरूले त्यहाँ प्रवेश पाउने, बालेन सरकारको स्वरुप त्यसै अनुसार झल्किने अपेक्षा यस बेला गर्न सकिन्छ। युवामय देशमा पछिल्लो जेनजी नवयुवा विद्रोहले दिलाएका आकांक्षाको भारी बोक्न सक्ने चुस्त र कामकाजी मन्त्रिपरिषद् बन्न सकोस्, हाम्रो शुभकामना।






