Skip to main content

एसीसी प्रिमियर कपको तालिका संशोधन, नेपालको पहिलो खेल बहराइनसँग

मलेसियामा हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिकामा सामान्य संशोधन गरिएको छ। नेपालले आफ्नो पहिलो खेल ३१ अगस्टमा बहराइनविरुद्ध खेल्ने नयाँ तालिका जारी भएको छ। सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा पहिल्यै भइसकेको छ। २७ साउन, काठमाडौं।

पहिले नेपालले खेल्न लागेको मिति १ सेप्टेम्बर थियो भने अब त्यो खेल ३१ अगस्टमा हुनेछ। समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेल ३१ अगस्टमा बहराइनविरुद्ध खेल्नेछ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्।

नेपालले त्यसपछि ३ सेप्टेम्बरमा आयोजक मलेसिया, ६ सेप्टेम्बरमा साउदी अरेबिया र ८ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका खेलपछि तेस्रो स्थानको खेल र फाइनल आयोजना हुनेछ। ओडीआई फारम्याटमा हुने प्रिमियर कपको विजेता टोलीले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ। नेपाली टोलीका सदस्यहरू: सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सनकुमार झा, शेर मल्ल, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।