
४ भदौ, हुम्ला। कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका डुबेर बेपत्ता भएका छन्। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा बिहीबार पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले जानकारी दिएका छन्। प्रवक्ता ढकालका अनुसार खार्पुनाथ–१ निवासी रामचन्द्र रावलका १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी ११ वर्षीया छोरी अनु शाही नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयले खोजी टोली परिचालन गरेको प्रहरी प्रवक्ता ढकालले बताए। कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको हुनसक्ने आशंका गर्दै तत्कालीन खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ता भएका दुवै बालबालिका मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए। नदी किनारमा पौडी खेल्दा दुवैलाई कर्णाली नदीको तीव्र प्रवाहले बगाएको खार्पुनाथ–१ का वडाध्यक्ष जयबहादुर शाहीले जानकारी दिए। नदिमा पानीको तीव्र बहावका कारण खोजी कार्यमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काले बताए।






