
नेपाल राष्ट्र बैंकका नवनियुक्त डिपुटी गर्भनर दीर्घबहादुर रावलले बिहीबार गर्भनर विश्वनाथ पौडेलबाट शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हालेका छन्। सरकारले बुधबार रिक्त रहेको डिपुटी गर्भनर पदमा रावललाई नियुक्त गरेको थियो र उनको नियुक्तिसँगै राष्ट्र बैंकको सञ्चालक समिति पूर्ण भएको छ। रावलले राष्ट्र बैंकमा दुई दशकभन्दा बढी समय काम गर्दै वित्तीय संस्था नियमन, बैंक सुपरिवेक्षण, मौद्रिक नीति विश्लेषण तथा सम्पत्ति शुद्धीकरण निवारणमा विशेषज्ञता हासिल गरेका थिए।
४ भदौ, काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डिपुटी गर्भनर दीर्घबहादुर रावलले शपथ ग्रहण गरेर बिहीबारदेखि आफ्नो जिम्मेवारी ग्रहण गरेका छन्। रावलले गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। सरकारले बुधवार उनलाई रिक्त रहेको राष्ट्र बैंकको डिपुटी गर्भनर पदमा नियुक्त गर्ने निर्णय गर्दै सोही दिनदेखि जिम्मेवारी सम्हाल्न निर्देशन दिएको थियो।
२०८२ फागुनदेखि रिक्त रहेको डिपुटी गर्भनर पदमा रावलको नियुक्ति पछि राष्ट्र बैंकको सञ्चालक समितिले पूर्णता पाएको छ। यसअघि सरकारले गत वैशाखमा एकजना डिपुटी गर्भनर नियुक्त गरे पनि अर्को पद रिक्तै राखेको थियो। गत वैशाखमा राष्ट्र बैंककै कार्यकारी निर्देशक किरण पण्डितलाई डिपुटी गर्भनरमा नियुक्त गरिएको थियो।
राष्ट्र बैंकको सुपरीवेक्षण विभागको नेतृत्व गर्दै आएका कार्यकारी निर्देशक रावलले बिहीबारदेखि डिपुटी गर्भनरको जिम्मेवारी सुरु गरेका छन्। केन्द्रीय बैंकमा दुई दशकभन्दा बढी अनुभव भएका रावल वित्तीय संस्था नियमन, बैंक सुपरीवेक्षण, मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारणमा विशेषज्ञ मानिन्छन्। उनले विवेकशील नियमन, जोखिममा आधारित सुपरीवेक्षण ढाँचा र वित्तीय स्थायित्व अनुगमनको नेतृत्व गरिसकेका छन्।
केन्द्रीय बैंकका मुद्रा व्यवस्थापन विभागको निर्देशकको रूपमा काम गरेका रावलले राष्ट्रिय मुद्रा सञ्चालनमा प्रणालीगत नियन्त्रण र जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए। सन् २०१९ देखि २०२४ सम्म उनी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइको नेतृत्वमा थिए। नेपालका सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप सम्बन्धी सर्वोच्च निकाय राष्ट्रिय समन्वय समितिको सदस्य सचिवको रूपमा पनि कार्यरत रहेका उनी नेपालको तेस्रो चरणको पारस्पारिक मूल्यांकन (२०२२–२०२४) को समयमा मुख्य सम्पर्क व्यक्ति थिए।
नेपाल राष्ट्र बैंकमा प्रवेश गर्नु अघि रावल नेपाल बैंकमा सहायक प्रबन्धक थिए। उनी काठमाडौं विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टबाट फाइनान्समा विद्यावारिधि गरिसकेका छन्। साथै फाइनान्समा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा स्नातकोत्तर समेत हासिल गरेका छन्। रावलले स्नातक र स्नातकोत्तर दुवै तहमा कलेज टपर भएर अवार्ड प्राप्त गरेका थिए। नेपाली बैंकिङ सम्बन्धी दुई पुस्तकका सह–लेखक पनि रहेका रावल सन् २०१२ मा ‘समाना बैंकिङ पुरस्कार’ बाट सम्मानित व्यक्ति हुन्।






