Skip to main content

कानुन निर्माणमा महिला, कानुन र विकास मञ्चको उत्कृष्ट योगदान

महिला, कानुन र विकास मञ्चले ३१औं साधारणसभाको अवसरमा आर्थिक वर्ष २०८२–०८३ का कार्यक्रम तथा योजना प्रगतिको सामाजिक परीक्षण गरेको छ। सामाजिक परीक्षक सञ्जु केसीले १ हजार ३५० कानुनी परामर्श, ३ हजार ५११ नागरिकताको मुद्दामा बहस पैरवी, र १६ मुद्दामा सहजिकरण भएको जानकारी दिइन्। काठमाडौं महानगरका प्रतिनिधि तथा प्रहरी अधिकारीहरुले महिला, कानुन र विकास मञ्चको निःशुल्क कानुनी सल्लाह, नागरिकता सहायता र जनचेतनामूलक भूमिकाको प्रशंसा गरेका छन्। ५ भदौ, काठमाडौं। महिला, कानुन र विकास मञ्चले ३१औं साधारणसभाको अवसरमा सामाजिक परीक्षण सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८२–०८३ का कार्यक्रम र कार्यान्वयन गरिएका योजनाहरूको प्रगति विवरणको सामाजिक परीक्षण गरिएको छ। सामाजिक परीक्षक सञ्जु केसीले वार्षिक कार्यप्रगति, पारदर्शिता र उत्तरदायित्वको मुल्यांकनका लागि संस्थाको नियमित कानुनी प्रक्रियाअनुसार सामाजिक परीक्षण गरिएको बताइन्।

कार्यक्रममा संस्थाले वर्षभरि गरेका उत्कृष्ट कार्यक्रमहरू मध्येको एक गत निर्वाचनको मतदाता शिक्षा कार्यक्रम भिडियो मार्फत देखाइएको थियो। सामाजिक परीक्षणको उद्देश्यबारे प्रकाश पार्दै केसीले यसलाई महिला, कानुन र विकास मञ्चको आगामी यात्राका लागि अवसर भएको बताइन। उक्त परीक्षणबाट प्राप्त सुझावहरूले प्रक्रिया, विधि, ध्येय, लक्ष्य, रणनीति र नीतिगत पैरवीमा सहयोग पुग्ने उनको भनाइ थियो। महिला, कानुन र विकास मञ्चले गत वर्ष १ हजार ३५० कानुनी परामर्श प्रदान गरेको, २२३ संघीय र ४३ प्रदेश सांसदलाई अभिमुखीकरण तालिम दिएको, ३ हजार ५११ नागरिकता मुद्दामा बहस पैरवी गरेको थियो। त्यसैगरी ६ हजार ६६६ स्थानीय तहका प्रतिनिधिलाई, न्याय क्षेत्रमा ११ जनालाई र सञ्चारकर्मी ९८ जनालाई क्षमता अभिवृद्धि तालिम दिएको तथा १६ वटा मुद्दामा सहजिकरण गरेको सामाजिक परीक्षक केसीले जानकारी दिइन्।

पाँच प्रदेशका विभिन्न स्थानीय तहमा कानुन निर्माणमा सहयोग पुर्‍याएको साथै निर्वाचन पर्यवेक्षण र महिला हक अधिकारमा काम गरेको परीक्षक केसीले तथ्याङ्क प्रस्तुत गरिन्। अनागरिकको नागरिकता प्राप्ति, महिला अधिकार र सामाजिक क्षेत्रमा महिला, कानुन र विकास मञ्चको योगदानको प्रशंसा गर्दै काठमाडौं महानगरपालिका वडा–११ का वडाध्यक्ष हिरालाल तन्डुकारले कानुनी जटिलतामा फसेका विपन्न वर्गलाई संस्थाले दिएको निःशुल्क कानुनी सल्लाहले धेरैले न्याय पाएको बताइन्। सामाजिक तथा कानुन निर्माणको क्षेत्रमा महिला, कानुन र विकास मञ्चले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको काठमाडौं महानगरपालिकाको सामाजिक विभाग प्रमुख समीक्षा निरौलाले बताइन्। उनले संस्थाको प्रशंसनीय कार्य स्मरण गर्दै योजना कार्यान्वयनमा गरेको प्रयास स्मरणीय रहेको र आगामी दिनमा अझ प्रगतिको शुभकामना व्यक्त गरिन्। एन्टी ट्राफिकिङ ब्यूरो प्रहरी उपरीक्षक बसन्त पाठकले महिला, कानुन र विकास मञ्चसँगको पारस्परिक सहयोगका लागि प्रहरी सधैं तयार रहेको बताएका छन्। कानुन नजान्दा क्षमा नपाइने भएकाले सचेतना आवश्यक रहेको र समाजमा सचेतना फैलाउन मञ्चले खेलेको भूमिका उल्लेखनीय भएको बताए। कार्यक्रममा अनुपम आलेमगर र कृष्ण थापामगरले अनागरिकबाट महिला, कानुन र विकास मञ्चको सहयोगमा नागरिकता पाएर नागरिक बनेको सफलता कथा सुनाएका थिए। महिला, कानुन र विकास मञ्चकी सचिव अधिवक्ता लक्ष्मी पोखरेलले कार्यक्रमको उद्देश्य र सामाजिक परीक्षणको महत्वबारे प्रकाश पारेकी थिइन्।