Skip to main content

अफिस पोसाकमा व्यावसायिकता थप्न उपयुक्त गहनाको छनोटका उपाय

समाचार सारांशः अफिस पोसाकमा मिनिमल ज्वेलरीको प्रवृत्ति बढेसँगै साना, सफा र आकर्षक डिजाइन भएका गहना छनोट गर्नु लाभदायक हुन्छ। फर्मल साडीमा मोतीका स्टड, सानो डायमन्ड इयररिङ, पातलो चेन, साधारण घडी र एउटा पातलो बाला वा कंगन लगाउनु पर्याप्त हुन्छ। अफिसमा राम्रो देखिनका लागि मात्र कपडा नभएर त्यससँग मिल्ने गहना र एक्सेसरी पनि महत्त्वपूर्ण हुन्छ। विशेषगरी कर्पोरेट वा फर्मल वातावरणमा गहनाले व्यक्तित्वलाई आकर्षक बनाउने साथै समग्र पोसाकलाई व्यवस्थित र व्यावसायिक देखाउन मद्दत गर्छ। तर अफिस पोसाकमा गहना छनोट गर्दा फेसनभन्दा बढी सादगी, सफाइ र सन्तुलनमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

आजको कर्पोरेट फेसनमा मिनिमल ज्वेलरीको प्रवृत्ति बढेको छ। धेरै ठूलो नेकलेस, भारी झुम्का, धेरै चुरा वा अत्यधिक चम्किला गहनाको सट्टा साना, सफा र शैलीपूर्ण गहना प्रयोग गर्ने प्रचलन छ। सही गहना छनोट गर्न सके सर्ट–प्यान्ट, कुर्ती, ब्लेजर वा साडीको पोसाक पनि प्रभावकारी र व्यावसायिक देखाउन सकिन्छ। सर्ट र प्यान्टसँग कस्तो इयररिङ लगाउने ? सर्ट र प्यान्ट अफिसको सबैभन्दा सामान्य फर्मल पहिरन हो। यससँग स्टड इयररिङ लगाउनु सबैभन्दा सुरक्षित र स्टाइलिस चयन हो। सानो डायमन्ड, मोती, सुन वा चाँदीका स्टडले लुकलाई धेरै भड्किलो नबनाई आकर्षक बनाउँछ। विशेषगरी सेतो, कालो, नेभी, बेईज, ग्रे वा अन्य न्यूट्रल रङका सर्टसँग साना मेटल स्टडहरू धेरै राम्रो देखिन्छन्।

यदि पोसाकमा प्रिन्ट वा डिजाइन धेरै छ भने पनि साधारण इयररिङ रोज्नु उपयुक्त हुन्छ। स्टड इयररिङ साना हुने भएकाले बन, लो पोनीटेल वा सफा र व्यवस्थित हेयरस्टाइलसँग अझ राम्रो छ। यसले अनुहारलाई पनि सफा र स्मार्ट देखाउन सहयोग पुर्याउँछ। ध्यान दिनुपर्ने कुरा के भने सर्ट र प्यान्टसँग अत्यन्त ठूला हुप वा लामो झुम्का लगाउनबाट बच्नुपर्छ। इयररिङको डिजाइन धेरै चम्किला वा आवाज गर्ने किसिमका हुनु हुँदैन।