Skip to main content

इराकमा सशस्त्र समूहका हतियार एक महिनाभित्रै राज्यको नियन्त्रणमा ल्याइने

८ भदौ, काठमाडौं । इराकले सशस्त्र समूह र मिलिसियासँग रहेका हतियारहरू राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्न लागेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–आराजीका अनुसार अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन सेप्टेम्बर ३० मा फिर्ता भए पश्चात् हतियार नियन्त्रणमा लिने प्रक्रिया क्रमशः अघि बढाइनेछ।

अल–आराजीले यस निर्णयलाई ‘रणनीतिक इराकी निर्णय’ भएको बताउँदै सशस्त्र समूहसँग कुनै भिडन्त नगरी संवादद्वारा प्रक्रिया अगाडि बढाउने बताएका छन्। यद्यपि, इरानसँग निकट केहि सशस्त्र समूहहरूले निशस्त्रीकरणको बिरोध गरिरहेका छन्। कताइब हिज्बुल्लाहले विदेशी फौज पूर्ण रूपमा फर्कनुपर्ने, उत्तरी इराकबाट टर्की सेनाहरू हट्नुपर्ने र कुर्द लडाकू समूह पेस्मेर्गाका विघटन आवश्यक रहेको माग राखेको छ।

सरकारले सशस्त्र भिडन्तलाई ‘रातो रेखा’ मानेको हुँदा अल–आराजीले सशस्त्र समूहका लडाकूहरूको अधिकार संरक्षण सुनिश्चित गरिने बताएका छन्।