जुम्लाका हेमप्रकाश मञ्जिलले राष्ट्रिय कविता प्रतियोगितामा जिते प्रथम सम्मान

भीमफेदी गाउँपालिकाद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा जुम्लाका हेमप्रकाश मञ्जिलको कविताः ‘छुटेपछि देश’ प्रथम स्थानमा रहँदै ५० हजार रुपैयाँ पुरस्कार विजेता बनेका छन्। सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ कविता दोस्रो स्थानमा र झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तेस्रो स्थानमा रहेर क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
तुल्सी थापाको स्मृति दिवसका अवसरमा भीमफेदी-२ भैंसेस्थित श्रीकृष्ण माध्यमिक विद्यालय परिसरमा उनको अर्धकदको प्रतिमा अनावरण गरिएको छ। ‘छुटेपछि देश’ शीर्षक कविताले भीमफेदी गाउँपालिकामा आयोजित उक्त राष्ट्रिय कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको हो। जुम्लाको गुठचौर गाउँपालिका-४ निवासी हेमप्रकाश मञ्जिलले लेखेको यो कविता ५० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रथम भएको हो।
साहित्यकार तुल्सी थापाको स्मृति दिवसमा भीमफेदी गाउँपालिकाद्वारा आयोजना गरिएको यस राष्ट्रिय कविता प्रतियोगितामा देशप्रेम, समसामयिक सामाजिक विषय तथा मानवीय संवेदनालाई समेट्ने कविताहरू प्रस्तुत भएका थिए। प्रतियोगितामा सर्लाहीको लालबन्दी नगरपालिका-४ निवासी सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ कविता दोस्रो स्थानमा रह्यो र उनलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो। झापाको अर्जुनधारा नगरपालिका-५ का योगराज पौडेलको ‘मातृगाथा’ कविता तेस्रो भई २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
त्यस्तै, काठमाडौंकी चेतना शर्माको ‘रातो क्यानभास’ र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निवासी धीरज नाथको ‘बगैँचा’ कविताले प्रोत्साहन पुरस्कार प्राप्त गरे, जसका लागि जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ। पुरस्कार वितरण भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले गरेका थिए। २०१० सालमा स्थापना भएको श्रीकृष्ण माध्यमिक विद्यालयमा तुल्सी थापाले अध्ययन गरेका थिए र पछि यहाँ प्रधानाध्यापकको रूपमा समेत कार्यसम्पादन गरिसकेका थिए।






