Skip to main content

गिनीमा फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, ६ घाइते

गिनीको राजधानी कोनाक्रीमा आइतबार भारी वर्षापछि ल्यान्डफिलमा रहेको फोहोरको पहाड भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। यो दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने धेरै घरहरु र केही सवारीसाधनहरु भग्नावशेषमा पुरिएका छन्। उद्धार टोलीले भग्नावशेष हटाएर मृतक र घाइतेहरुको खोजी तथा अस्पतालमा लैजानको काम निरन्तर गरिरहेको छ।

कोनाक्रीको सबैभन्दा ठूलो ल्यान्डफिलमा आइतबार झिसमिसेमै परेको भारी वर्षापछि फोहोरको पहाड करिब बिहान २ बजे भत्किएको सरकारी अधिकारीहरूले बताएका छन्। यसले पहिरो निम्त्याउँदै नजिकैका छाप्रा र संरचनाहरू भग्नावशेषमा पुरिएको थियो।

दुर्घटनामा परेका मृतक र घाइतेहरुको उद्धार तथा भग्नावशेष हटाउन उद्धार टोलिले तत्काल घटनास्थलमा पुगेको छ र घाइतेहरुलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्‍याउने काम जारी रहेको छ। समेटिएका केही सवारीसाधनहरू पनि भग्नावशेषमा दबिएका छन्।

गिनी धातु खानीसम्पदाले सम्पन्न देश हो जहाँ विश्वकै सबैभन्दा ठूलो बक्साइट भण्डार रहेको छ। तर, विश्व बैंकका अनुसार देशको ४३.७ प्रतिशत जनसंख्या राष्ट्रिय गरिबी रेखामुनि जीवन यापन गरिरहेको छ। अफ्रिकी शहरहरूको तीव्र जनसंख्या वृद्धिदरले गर्दा फोहोर व्यवस्थापन प्रणालीमा आवश्यक सुधार हुन नसकेको अवस्था छ।