Skip to main content

फोल्ड हुने आईफोनको परीक्षण जारी

एप्पलले आगामी सेप्टेम्बरमा पहिलो फोल्ड हुने आईफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ। बजारमा आउनुअघि परीक्षणका लागि बनाइएको नमुना प्रयोग गर्दा फोनको मोड्ने र खोल्ने भाग बलियो र प्रयोग गर्न सजिलो रहेको बताइएको छ। फोनमा ठूलो फोल्ड हुने स्क्रिन, टच आईडी र कम्तीमा दुई हजार अमेरिकी डलर मूल्य हुन सक्ने अनुमान गरिएको छ। ८ भदौ, काठमाडौं।

एप्पलले आगामी सेप्टेम्बरमा आफ्नो पहिलो फोल्ड हुने आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ। ‘आईफोन अल्ट्रा’ नाम दिइएको उक्त फोन बजारमा आउनु अघि परीक्षणका लागि बनाइएको नमुना एप्पलबाहिरका केही व्यक्तिले प्रयोग गरिसकेको रिपोर्ट सार्वजनिक भएको छ। ब्लूमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानलाई उद्धृत गर्दै एप्पल–इन–साइडरले जनाएअनुसार फोन प्रयोग गरेका व्यक्तिहरूले यसको फोन मोड्ने र खोल्ने भाग बलियो तथा प्रयोग गर्न सजिलो रहेको बताएका छन्।

फोल्ड गर्दा फोन केही बाक्लो भएपनि खल्तीमा अट्ने उनीहरूको अनुभव छ। फोनमा फोल्ड हुने ठूलो स्क्रिन रहने र त्यसमा आइप्याडजस्तै एकैपटक धेरै सामग्री तथा एप प्रयोग गर्न मिल्ने व्यवस्था रहने बताइएको छ। ठूलो स्क्रिनका कारण भिडियो हेर्न, काम गर्न र धेरै एप चलाउन सहज हुने अनुमान गरिएको छ। क्यामेरामा टाढाको वस्तु नजिक देखाउने टेलिफोटो लेन्स नहुन सक्ने रिपोर्टमा उल्लेख छ। तर, फोल्ड हुने ठूलो स्क्रिनलाई तस्बिर वा भिडियो खिच्दा दृश्य हेर्ने स्क्रिनका रूपमा प्रयोग गर्न सकिने र यसले राम्रो अनुभव दिने प्रारम्भिक प्रयोगकर्ताले बताएका छन्। नयाँ आईफोनमा अनुहार हेरेर फोन खोल्ने फेस आईडीको सट्टा औंठाछापबाट फोन खोल्ने टच आईडी थपिने सम्भावना रहेको संकेत गरिएको छ। यसको मूल्य कम्तीमा दुई हजार अमेरिकी डलर हुन सक्ने अनुमान गरिएको छ।