
मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत नेपालका २५ म्यानपावर कम्पनीले उक्त प्रणालीबाट आफ्नो नाम हटाउने निर्णय गरेका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा महासचिव हरि बहादुर डाँगीले २५ वटै म्यानपावर कम्पनीको नाम तत्काल हटाउने सहमति भएको जानकारी दिए। व्यवसायीहरूले सीमित कम्पनीलाई मात्र मलेसियाली रोजगारदातासँग जोड्ने व्यवस्था सिन्डिकेटको प्रयास भएको भन्दै यसको बिरोध गरेका थिए।
मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि करिब १ हजार २०० लाइसेन्सप्राप्त म्यानपावर कम्पनीमध्ये २५ वटालाई मात्रै एफडब्लूसीएमएसमा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’ का रूपमा सूचीकृत गरेको थियो। त्यसपछि व्यवसायीहरूले विरोध गरेपछि ती म्यानपावरलाई संघले सदस्यताबाट निलम्बन समेत गरेको छ। संघले उनीहरूलाई कारबाहीका लागि सरकारले कदम चाल्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो।
यस विवादबीच एफडब्लूसीएमएसमा सूचीकृत २५ म्यानपावर कम्पनीले सामूहिक रूपमा प्रणालीबाट बाहिरिन सहमत भएका छन्। महासचिव डाँगीका अनुसार, केवल आफूहरूलाई सीमित गरेर कामदार पठाउने व्यवस्था दीर्घकालीन रूपमा आफ्नै हितमा नरहेको निष्कर्षमा पुगेका उनीहरू यो निर्णयमा पुगेका हुन्। यससँगै २५ म्यानपावर कम्पनीले वैदेशिक रोजगार व्यवसायी संघमा पनि प्रतिबद्धता बुझाउनुपर्ने भएको छ। मन्त्रालयले सूचीमा रहेका २५ म्यानपावरलाई छलफलका लागि बोलाएको थियो।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका कार्यबाहक राजदूतसँग भएको छलफलमा श्रम आप्रवासन सम्बन्धी विषयलाई द्विपक्षीय संवाद र सहमतिमार्फतै टुंग्याउनुपर्ने धारणा राखेका थिए।






