‘करदाता पुरस्कार’ले उपभोक्ता सचेतना बढायो, बिल नदिने व्यापारीविरुद्ध उजुरीमा वृद्धि

समाचार सारांश सम्पादकीय समीक्षा गरिएको। करदाता प्रोत्साहन पुरस्कार सुरु भएपछि बिलबिजक माग्ने उपभोक्ता संख्या वृद्धि भएको र बिल नदिने व्यापारीविरुद्ध उजुरी पनि बढेको आन्तरिक राजस्व विभागले जनाएको छ। सरकारले १ साउनदेखि सुरु गरेको कार्यक्रममा पहिलो १५ दिनको तुलनामा दोस्रो १५ दिनमा बिल अपलोड र क्यूआर कारोबारमा सहभागी संख्या उल्लेखनीय रूपमा बढेको तथ्यांकले देखाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस अभियानलाई सचेत उपभोक्तामा राज्यको लगानी भनेका छन् र पुरस्कृत उपभोक्तालाई विशेष दूतका रूपमा काम गर्न आह्वान गरेका छन्। ९ भदौ, काठमाडौं। सरकारले करदाता प्रोत्साहन पुरस्कार कार्यान्वयन सुरु गर्दै गर्दा उपभोक्तामा बिलबिजक माग गर्नुपर्ने सचेतनामा तीव्र वृद्धिदेखिएको तथ्यांकले देखाएको छ। सामान किन्दा प्रत्येक बिल सरकारले आधिकारिक रूपमा दर्ता गर्ने र त्यस मार्फत १० लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिने भएपछि बिल नदिने व्यापारीविरुद्ध उजुरीको चाँग लागिरहेको आन्तरिक राजस्व विभागले जनाएको छ। पुरस्कार घोषणाको एक महिनाको अनुभवमा उपभोक्तामा बिल लिनै पर्ने चेतना विस्तार भएको विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीले बताए। तर अझै पनि न्युरोड लगायतका मुख्य व्यापारिक केन्द्रहरूमा केही व्यापारीहरूले बिल दिन आनाकानी गरिरहेको उपभोक्ताले गुनासो गरिरहेका छन्। ‘हेलो सरकारमा हाल धेरैजसो गुनासो यस्तो छ कि कतिपय पसलहरूले बिल दिन मानेनन्,’ उनले भने, ‘त्यसैले बजार अनुगमनलाई थप गहिरो बनाउनुपर्ने देखिएको छ।’ विभागले त्यसका लागि तयारी गरिरहेको पनि जानकारी दिए। ‘सामान खरिद गर्दा उपभोक्ताले सक्कल बिल पाउनु उपभोक्ताको अधिकार हो,’ उनले थपे, ‘पुरस्कार कार्यक्रममा हाम्रो उद्देश्य पनि बिल माग्न उपभोक्तामा जागरण ल्याउनु हो।’ तर अझै पनि प्यानमा दर्ता भएर पसल सञ्चालन गर्ने व्यापारीहरूले सक्कल बिल दिन नमान्ने, आधिकारिक बिल नदिने गुनासो धेरै आउने गरेको छ। विभागका अनुसार करदाता प्रोत्साहन पुरस्कार सुरु भएयता भ्याट र प्यानमा नयाँ दर्ता हुने प्रवृत्तिमा खासै सुधार नदेखिएको छ। उपत्यका र सहरी इलाकामा सञ्चालनमा रहेका अधिकांश पसलहरू पहिले नै करमा दर्ता भइसकेका छन्। तर, दर्ता भएका पसलहरूले पनि बिल दिन नमानेको भनेर गुनासो बढेको छ। उपत्यका बाहिरको क्षेत्रमा समेत यस्तै समस्या विभागमा बृहत रूपमा रिपोर्ट भइरहेको छ। ‘क्यूआरबाट रकम तिरेका उपभोक्तालाई पनि तिरेको रकम र बिल जारी गरेको रकम फरक देखिएको छ,’ निर्देशक रघुवंशीले भने, ‘सबै कारोबार प्रणालीमार्फत ट्र्याक हुने भएकाले सबै व्यवसायीहरूले इमानदार रहन जरुरी छ।’ पुरस्कार कार्यक्रममा सहभागितामा उल्लेखनीय वृद्धि आन्तरिक राजस्व विभागको तथ्यांकले सुरुको पहिलो महिनामै पुरस्कार कार्यक्रममा सहभागी उपभोक्ता संख्या उल्लेखनीय वृद्धि देखाएको छ। सरकारले १ साउनदेखि शुरु गरेको कार्यक्रममा पहिलो १५ दिनमा नगद कारोबारका बिल अपलोडको संख्या ७ हजार ७७ थियो। तर साउन १६ देखि ३१ सम्मको अवधिमा यो संख्या तीव्र रूपमा बढेर ३ लाख ५७ हजार १ सय ४९ पुगेको छ। क्यूआर कारोबारमा समेत उत्साह देखिएको छ। क्यूआर कारोबारबाट पुरस्कार योजनामा स्वचालित रूपमा सहभागी उपभोक्ताको कारोबार संख्या पहिलो १५ दिनमा २ करोड ५६ लाख ८ हजार ९४ थियो भने दोस्रो १५ दिनमा तीव्र वृद्धि हुँदै ३ करोड २० लाख ८६ हजार ३ सय ८० पुगेको छ। विभागका अनुसार साउन १५ पछिका १६ दिनमा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २ सय २९ पुगेको छ। सरकारले प्रत्येक दिन १ लाख (कर कट्टीपछि) र प्रत्येक १५/१५ दिनमा १० लाख रुपैयाँ (कर कट्टीसहित) बम्पर पुरस्कार स्वरूप प्रदान गर्न थालेको छ। सचेत उपभोक्ता अभियानमा राज्यले लगानी गरेको अर्थमन्त्रीको भनाइ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुरु गरेको यो अभियान राज्यले उपभोक्तामा लगानी गरेको मानी रहेको बताए। दोस्रो पाक्षिक पुरस्कार वितरण समारोहमा उनले भने, ‘यो राज्यले तपाईंहरूमाथि सचेत उपभोक्ताको अभियानका लागि लगानी गरेको पनि हो।’ बिल लिने र दिने संस्कृतिको प्रवर्द्धन गर्न सुरु गरिएको अभियान हो भनी बचन दिए। यसले सरकारले राजस्व संकलनमा वृद्धि गर्नुका साथै सबैलाई औपचारिक अर्थतन्त्रमा समावेश गराउने लक्ष्य राखेको अर्थमन्त्रीको भनाइ छ। पहिलो महिनाको अनुभवले जनमा खुशी र उत्साह फैलाएको उनले बताए। पुरस्कार प्राप्त भएका सबैलाई सरकारको दूतका रूपमा काम गर्न पनि उनले अनुरोध गरे। ‘आफ्नो गाउँटोल, पालिका, निर्वाचन क्षेत्रमा विशेष दूतका रूपमा तपाईंहरू काम गर्न अनुरोध गर्छु,’ उनले भने। पुरस्कार विजेताको अनुभव कैलालीका हेमराज जोशीले २५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका थिए। उनी भन्छन्, सरकारले सुरु गरेको पुरस्कार कार्यक्रमले उपभोक्तामा बिल लिन र दिन सक्ने बानी छिट्टै फैलिनेछ। अर्थ मन्त्रालयमा भएको कार्यक्रममा उनले अनुभव साट्दै भने, ‘सबै उपभोक्तामा यही बानी रह्यो भने अर्थतन्त्रमा पनि ठूलो लाभ हुनेछ।’ नेपालमा क्यूआर प्रणाली सुरु भएयता उनले नगद बोक्न छोडेको र जहाँ पनि क्यूआर स्वीकार्ने भएकाले नगद कम प्रयोग हुने उनको अनुभव छ। कतिपय ठाउँमा नगद आवश्यक परेर अप्ठ्यारो भएको भने बताउनुभयो। पहिलो पाक्षिक पुरस्कार जितेका गैँडाकोटका हिमाल अर्यालले फेसबुकमा नाम देख्दा आफैँ नभएर कोहि न हो भन्ने शंका लागेको थियो तर फोनमा सन्देश आएपछि त्यो आफैं भएको बुझे। साँझ साथीहरूसँग आइसक्रिम किनेर तिरेको रकममा पुरस्कार पाएको उनले बताए। उनले यो अभियानले अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउन ठूलो सहयोग पुर्याउने धारणा राखे। पुरस्कार पाएको पछि साथीहरू पनि बिल लिन बढी सचेत हुन थालेको उनले जानकारी दिए।






