
रसुवा, नुवाकोट, धादिङ लगायत बाढी प्रभावित क्षेत्रमा पशु उद्धार र उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले ११५९ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। ११ भदौ, काठमाडौं। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा हिजो आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छी उद्धार र उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ। एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकहरूले हटलाइन ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार र उद्धारसम्बन्धी प्राविधिक सल्लाह लिन सक्नेछन्। हटलाइनमार्फत प्राप्त जानकारीको आधारमा फिल्डमा रहेका पशु चिकित्सक र उद्धार तथा उपचार टोलीसँग समन्वय गरी आवश्यकतानुसार तुरुन्तै टोली परिचालन गरिनेछ। आज बिहान मात्र एसोसिएसनले डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेलको समावेशी टोलीलाई बाढी प्रभावित क्षेत्रमा पठाएको छ। बाढीपछिको विभिन्न संक्रामक रोग र महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै एसोसिएसनले रोग निगरानी तथा रोकथामका लागि पशु सेवा विभाग लगायत सरकारी निकायसँग सहकार्य गरिरहेको जानकारी दिइएको छ। सम्पर्क र सहजीकरणका लागि सार्वजनिक गरिएको निःशुल्क हटलाइन नम्बर ११५९ हो। त्यस बाहेक, डा. शंकर न्यौपाने (९८४५४४०४०४), डा. विशाल पोखरेल (९८४३३९७५८७) र डा. दिनेश अर्याल (९८४००१७०७६) लाई पनि सम्पर्क गर्न सकिन्छ भने एसोसिएसनले जनाएको छ।






