Skip to main content

रसुवागढीमा बाढीले ठूलो मानवीय र आर्थिक क्षति पुर्यायो

रसुवागढी भन्सार यार्डमा भोटेकोशीको बाढीले सयौँ कन्टेनर, मालवाहक ट्रक र पूर्वाधार बगाएर ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याएको छ। रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि व्यवसायीहरूले मुस्ताङको कोरला नाकालाई विकल्पका रूपमा हेरे पनि ढुवानी लागत र समय बढ्ने भएको छ। चाडपर्वको मुखमा आयात प्रभावित हुँदा बजारमा अत्यावश्यक सामानको अभाव र मूल्यवृद्धि हुन सक्ने भन्दै व्यवसायी र अर्थविद्हरूले सरकारले तत्काल उद्धार, पुनःस्थापना र सहुलियतको व्यवस्था गर्नुपर्ने बताएका छन्।

नेपालीहरूका ठूला चाड तिज, दसैं, तिहार र छठ मुखैमा छन्। चाडपर्वको उल्लास सुरु हुनुपर्ने बेला देशको मुख्य व्यापारिक केन्द्र काठमाडौंका व्यापारीका अनुहारमा गहिरो सन्नाटा र निराशा छाएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा अप्रत्याशित आएको प्राकृतिक विपद्ले चाडपर्व लक्षित व्यापारका लागि ऋणधन गरेर मगाइएका अर्बौं रुपैयाँका सामानलाई बगाएको छ। यस विनाशकारी बाढीले रसुवागढी भन्सार यार्डलाई पूर्णरूपमा बगरमा परिणत गरिदिएको छ।

रसुवागढी नाकाबाट सामान ल्याउन गएका भन्सार कर्मचारी, एजेन्ट र चालकहरू बेपत्ता भएका छन्, जसले यो विपद् आर्थिक नोक्सानीमा मात्र सीमित नरहेको, गम्भीर मानवीय त्रासदीको रूप लिएको छ। नेपाल समुद्रपार निकासी पैठारी संघ महासचिव जयन्तकुमार अग्रवालले भनेका छन्, “रसुवा र तातोपानी खुल्ने अहिले कुनै सम्भावना नै छैन, त्यहाँ पूर्वाधार नै बाँकी छैनन्, सबै बगर भएको छ।”

कोरला नाकामा बाढीपहिरोको जोखिम कम छ, तर व्यवसायीहरूले यो विकल्पलाई बाध्यतामात्र मान्छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार हाल यो नाकाबाट नियमित रूपमा मालवाहक सवारीसाधन आवतजावत गरिरहेका छन्। यद्यपि, कोरला नाकामा खाद्यवस्तु र सड्ने–गल्ने वस्तु आयातमा समस्या छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघ महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवा–केरुङ नाकातर्फको चिनियाँ भूभागमा करिब ५० देखि ६० किलोमिटर सडक पूर्णरूपमा ध्वस्त भएको छ। उनले भने, “रसुवा नाकाको भौतिक अवस्था निकै क्षतविक्षत छ, त्यहाँको सडक पूर्वाधार पुनर्निर्माण गर्न राष्ट्रियस्तरको बजेट र चिनियाँ पक्षको विशेष सक्रियता आवश्यक छ।”