नुवाकोट र रसुवामा वैकल्पिक विद्युत् सेवा प्रदानका लागि ५०० थान सोलार पावर बैंक हस्तान्तरण

ऊर्जा मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवामा वैकल्पिक विद्युत् सेवाका लागि ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ। मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत मोबाइल चार्ज गर्न र चार–पाँच वटा बत्ती बाल्न सक्ने क्षमताको पावर बैंक उपलब्ध गराएको हो। यो पहल विपद्का कारण विद्युत् सेवा प्रभावित आएका नागरिकलाई सञ्चार र प्रकाशको सुविधा प्रदान गर्न गरिएको मन्त्रालयले जनाएको छ।
११ भदौ, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा वैकल्पिक विद्युत् सेवा प्रवाह गर्न ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ। मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा तत्काल विद्युत् आवश्यकता पूर्ति गर्ने उद्देश्यले सोलार पावर बैंक उपलब्ध गराएको हो।
विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिने उक्त पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै करिब चार–पाँच वटा बत्ती बाल्न सकिने क्षमता छ। विपद्का कारण नियमित विद्युत् सेवा प्रभावित भएका नागरिकलाई अत्यावश्यक सञ्चार तथा प्रकाशको सुविधा प्रदान गर्न सोलार पावर बैंक सहयोगी साबित हुने मन्त्रालयले जानकारी दिएको छ।
प्राकृतिक विपद्का बेला प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन तत्काल वैकल्पिक ऊर्जा सेवा उपलब्ध गराउनु र विद्युत् पहुँच निरन्तरता दिन यस प्रकारको पहल गरिएको मन्त्रालयले बताएको छ।






