Skip to main content

इप्पानले बाढीपीडितका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय

इप्पानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी नदीको भीषण आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ जिल्लाहरूमा मृत्यु भएका जनावरूपमा इप्पानले श्रद्धाञ्जली व्यक्त गरेको छ। इप्पानले बाढीका कारण क्षतिग्रस्त संचालनमा रहेका र निर्माणाधीन विद्युत् आयोजनाहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारसँग समन्वय गरी सहयोग गर्ने निर्णय गरेको छ। ११ भदौ, काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बाढीपीडितहरूका लागि ५ करोड ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। आज बसेको कार्यसमितिको २०६ औं आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ लगायतका जिल्लाहरूमा मृत्यु भएका जनावरूपमा श्रद्धाञ्जली व्यक्त गरेको छ। शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

साथै इप्पान तथा यससँग सम्बद्ध जलविद्युत् कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। इप्पान अध्यक्ष मोहन कुमार डाँगीका अनुसार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा उपयुक्त समयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरिनेछ। बैठकले बाढीबाट संचालनमा रहेका र निर्माणाधीन थुप्रै विद्युत् आयोजनाहरुमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका कर्मचारी र मजदुरप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

अध्यक्ष डाँगीले भने, ‘ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख दुःखसँग पनि जोडिएको क्षेत्र हो। विपद्का बेला सबै सदस्य कम्पनीहरू एकजुट हुँदा पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सन्देश दिन सकिन्छ।’ उहाँले थपे, ‘यस मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूको सक्रिय र उदार सहयोग आवश्यक छ।’