
१२ भदौ, बैतडी । बैतडीमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ निवासी लोकेन्द्र बहादुर चन्दकी १२ वर्षीया छोरी सुस्मिता चन्द सर्पको टोकाइबाट गम्भीर घाइते भई मृत्यु भएकी छन्। बिहीबार अपराह्न करिब ६ बजेको समयमा घरमै खेल्दै गर्दा आगनमा सर्पले टोकेपछि सुस्मिता घाइते भएकी थिइन्। उपचारका क्रममा डडेल्धुरा अस्पतालमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्। बालिका सुस्मिता चन्द पञ्चेश्वर गाउँपालिका-४ को टाँक तिलकपुर माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्।






