रतुवामाई नगरपालिकाले ४० लाख सहयोग गर्ने, विराटनगर महानगरले २५ लाख ५१ हजार दिने घोषणा

१२ भदौ, विराटनगर । रसुवा बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा मोरङको रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले कर्मचारी र जनप्रतिनिधिले पाउने ७ दिनको सुविधा बराबर रकम जम्मा गरी ४० लाख रुपैयाँ राहत कोषमा पठाउने निर्णय गरेको हो । कार्यपालिकाको निर्णयअनुसार, जनप्रतिनिधि र अधिकृत तहका कर्मचारीले सात दिनको तलब राहत कोषमा जम्मा गर्नेछन् । त्यस्तै, अधिकृत तहका शिक्षक र सहायक तहका कर्मचारीले ५ दिनको तलब जम्मा गर्नेछन् । सहायक तहका शिक्षक र सोभन्दा तलका कर्मचारीहरूले भने ३ दिनको तलब राहत कोषमा योगदान गर्ने निर्णय भएको नगरप्रमुख नागेन्द्रप्रसाद सिंह गनगाईले बताए । यता, विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ राहत कोषमा सहयोग गर्ने निर्णय गरेको छ । महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा र कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जानकारी दिएको छ ।






