बाढीले क्षति पुर्याएको जलविद्युत् आयोजनाहरू र सम्पर्कविहीन व्यक्तिहरूको संख्या

भोटेकोशी बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ भने ९३४ जना सम्पर्कविहीन छन्। रसुवाका ७ आयोजनामा ७३० जना सम्पर्कविहीन छन्, जसमा माथिल्लो त्रिशूली–१ मा मात्र ५७६ जना छन्। नुवाकोटका ६ आयोजनामा २४४ जना सम्पर्कविहीन छन्, र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले हेलिकप्टरमार्फत उद्धार प्रयास भइरहेको जनाएको छ। १२ भदौ, काठमाडौं।
भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित आयोजनामा कार्यरत ९३४ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। इप्पानले उपलब्ध गराएको विवरणअनुसार, रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजनामा बाढी र पहिरोले क्षति पुर्याएको हो। यी आयोजनाका कर्मचारी र कामदारहरू बाढीका कारण सम्पर्कविहीन भएका छन्।
रसुवामा मात्रै ७ वटा जलविद्युत् आयोजना बाढीबाट प्रभावग्रस्त भएका छन्। ती आयोजनामा ७३० जना सम्पर्कविहीन छन्। रसुवाका प्रभावित आयोजनामध्ये चार वटा सञ्चालनमा छन् भने तीन निर्माणाधीन छन्। सञ्चालनमा रहेका चार आयोजनाको कुल क्षमताः १५८ मेगावाट र निर्माणाधीन तीन आयोजनाको क्षमता ३४२ मेगावाट छ। रसुवामा सबैभन्दा धेरै मानिस सम्पर्कविहीन भएको आयोजनाबाट माथिल्लो त्रिशूली–१ रहेको छ, जसको क्षमता २१६ मेगावाट छ। उक्त निर्माणाधीन आयोजनामा मात्र ५७६ जना सम्पर्कविहीन छन्।
नुवाकोटमा ६ प्रमुख जलविद्युत् आयोजनाहरू बाढीबाट प्रभावित भएका छन्। ती आयोजनामा २४४ जना सम्पर्कविहीन छन्। नुवाकोटका प्रभावित आयोजनामध्ये चार वटा सञ्चालनमा छन् भने दुई निर्माणाधीन छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १२३ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ५२.६ मेगावाट छ। नुवाकोटमा सबैभन्दा बढी मानिस सम्पर्कविहीन रहेको आयोजनामा माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट) पर्दछ, जहाँ १५८ जना सम्पर्कविहीन छन्।






