Skip to main content

पल्सर स्पोर्ट्स अवार्ड २०८२ का चार विधाका मनोनयन सार्वजनिक

१४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाका मनोनयन सार्वजनिक गरेको छ । आगामी भदौ १८ गते काठमाडौंमा आयोजना हुने अवार्ड समारोहमा यी चार विधाका विजेतासहित कुल ९ विधामा सम्मान प्रदान गरिनेछ ।

पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, एथ्लेटिक्सका सोमबहादुर कुमाल, बक्सिङका चन्द्र थापा, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य मनोनयनमा परेका छन् । महिलातर्फ फुटबलकी सावित्रा भण्डारीसहित करातेका एरिका गुरुङ, सानुमाया थिङ, सबिना श्रेष्ठ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ प्रतिस्पर्धामा छन् । यसैगरी युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद, करातेकी मनिषा कुमारी बोहोरा, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव परेका छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षक मनोनयनमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ, करातेकै मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटकी पुरन सिंह खत्री परेका छन् । विधागत मनोनयनमा कराते हावी रहेको छ, जहाँ चार विधामा गरेर करातेका ८ खेलाडी/प्रशिक्षक मनोनयनमा परेका छन् ।