
१४ भदौ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ मा चट्याङ लाग्दा हाइड्रोपावरमा काम गर्ने ५ जना मजदुर घाइते भएका छन्। आइतवार साँझ करिब ५ बजे चट्याङ लागेको थियो। चट्याङ लागेर कसुवा खोला हाइड्रोपावरको टनेलमा कार्यरत ५ जना मजदुर घाइते भएका छन् भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको छ।
घाइतेहरूमा जिल्ला बागलुङको ढोरपाटन गाउँपालिका–८ का २० वर्षीय सुमन घर्तीमगर, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ का ४९ वर्षीय दलबहादुर ढुंगेल, रामेछाप मन्थली नगरपालिका–८ का ३६ वर्षीय प्रह्लाद ढुंगेल, २५ वर्षीय प्रकाश पहरी र दाङ शान्तिनगर नगरपालिका–६ का ३० वर्षीय बर्नसिंह चौधरी रहेका छन्, प्रहरीले जनाएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्था मार्फत प्राथमिक उपचार गरेपछि थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा लगिएको छ।






