
समाचार सारांश: १० भदौको बाढीले रसुवागढीदेखि मुग्लिनसम्म कम्तीमा ३५ पुल बगेका छन् भने सडक विभागले जनाएको छ। रसुवा अझै राष्ट्रिय सडक सञ्जालमा सहज रुपमा जोडिन सकेको छैन र बेलिब्रिज तत्काल जोड्न कम्तीमा एक महिना लाग्न सक्ने सडक विभागले जानकारी दिएको छ। सडक विभागले मुख्य राजमार्गमा देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरिरहेको छ। १४ भदौ, काठमाडौं।
१० भदौमा आएको विनाशकारी बाढीले रसुवागढीस्थित मितेरी पुलदेखि मुग्लिनसम्म कम्तीमा ३५ वटा पुल पूर्णरूपमा बगेका छन्। सबैभन्दा बढी प्रभावित रसुवा जिल्ला व्यावहारिक रूपमा अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन। प्राविधिक रूपमा वैकल्पिक मार्ग खुले पनि यातायात सहज छैन। हेलिकप्टरबाट रसुवाका दुर्गम भेगसम्म राहत र उद्धार कार्य गर्न समेत कठिनाइ भइरहेकाले सडक यातायात विकल्प सहज नहुँदा प्रभावित स्थानीय थप पीडामा छन्। यस्तो अवस्थामा सरकारले छिटो सडक यातायात खोल्न कडा दबाब भोगिरहेको छ। तर, यो काम तत्काल सम्भव देखिंदैन। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार अहिलेको बाढीले पुराना पुलहरूको संरचना र सो पुल रहेको स्थान पूर्णरूपमा बगाएको छ। यसकारण तत्काल ती सबै पुल सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। हाल बगेका पुलहरूको अवस्था अध्ययन गर्न पनि त्यस्ता ठाउँमा पुग्न सक्ने वातावरण बनेको छैन। त्यसैले बेलिब्रिज हालेर तुरुन्तै सडक यातायात खुल्ने सम्भावना छैन, उनले बताए। स्थानीय तहबाट भने छिटो सडक सञ्जालमा जोड्न माग भइरहेको छ। रसुवा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले आज राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेसँगको टेलिफोन कुराकानीमा जिल्लालाई छिटो सडक सञ्जालमा जोड्न आवश्यक रहेको बताएका छन्। नुवाकोट बेलकोटगढी गाउँपालिका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक छिटो सञ्चालन गर्न माग गरेका छन्।
बेलिब्रिज जोड्न कति समय लाग्छ? सडक विभागका महानिर्देशक जैसीका अनुसार यदि पुलको दुवै छेउको फाउन्डेसन राम्रो अवस्थामा छ भने कम्तीमा १५ दिनमा एउटा बेलिब्रिज जडान गर्न सकिन्छ। अघिल्लो पटक नेपाली सेनाले दुई साता भित्र बेलिब्रिज जोडेर सञ्चालनमा ल्याएको अनुभव पनि छ। तर यदि नयाँ फाउन्डेसन बनाउनुपर्ने भयो भने थप १५ दिन लाग्छ। त्यसैले कम्तीमा एक महिना लाग्ने सम्भावना छ, उनले जानकारी दिए।
केवल तीन स्थानमा बेलिब्रिज राखिने तयारी: सडक विभागले सबै क्षतिग्रस्त पुलमा तत्काल बेलिब्रिज राख्ने योजना बनाएको छैन। विभागका अनुसार प्राथमिकता राष्ट्रिय सडक सञ्जाललाई छिटो खुलाउने रहेको छ। त्यसै क्रममा सबैभन्दा आवश्यक तीन स्थानमा मात्र बेलिब्रिज राखिनेछ। अन्य ठाउँमा वैकल्पिक सडकमार्ग खोल्ने र यातायात सञ्चालनमा ल्याउने तयारी छ। धादिङबेँसी जोड्ने वैकल्पिक सडक पुनः सुरु गरिएको छ। उनका अनुसार देवीघाटको त्रिशूली नदीमाथिको तादी खोला पुरानो पुल बगेको ठाउँमा बेलिब्रिज राख्ने तयारी छ। दोस्रो पुल त्रिशूली बजारको पुरानो पुल भएको ठाउँमा राखिनेछ। तेस्रो पुल नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा राखिने तयारी छ। यी तीनै स्थानमा बेलिब्रिज जोड्दा मुख्य राजमार्ग सञ्चालनमा आउँछ। बाँकी पुलहरू प्राविधिक अध्ययन र आवश्यकताअनुसार स्थायी रूपमा निर्माण गरिनेछ, उनले भने।
बेलिब्रिज पर्याप्त छैन, भारत र चीनसँग सहयोग मागियो: हाल नेपाल सरकारसँग ५० मिटर लम्बाइका ११ थान बेलिब्रिज मात्र छन्। तर, त्रिशूली नदीले पुल बनाउन आवश्यक जमिन धेरै कटान गरेको कारण बढी लम्बाइका पुल आवश्यक परेका छन्। सरकारले भारत र चीनसँग बेलिब्रिज सहयोगका लागि अनुरोध गरेको छ। चीनसँग ३० थान बेलिब्रिज माग गरिएको जानकारी अर्थ मन्त्रालयको विवरणमा छ। सामान्यतया बेलिब्रिज सीमित ठाउँ र अल्पकालीन यातायात सञ्चालनका लागि प्रयोग गरिन्छ। तर यस पटक ठूलो नदी किनारमा कटान भएकाले लामो बेलिब्रिज आवश्यक परेको छ।
बाढीले मितेरी पुलदेखि मुग्लिनसम्म कहाँ-कहाँ बगायो पुल? सडक विभागका तथ्यांक अनुसार नेपाल–चीन सीमास्थित मितेरी पुलदेखि मुग्लिनको पुरानो सस्पेन्सन पुलसम्मका पुल प्रभावित भएका छन्। मितेरी पुल पूर्णरूपमा बगेको छ, तर मुग्लिन पुल भने जोगिएको छ। रसुवामा टिमुरेमा दुई थान बेलिब्रिज बगेका छन्। रसुवा भोटेकोशी पक्की पुल पनि बगेको छ। चिलिमेको पक्की पुल समेत बाढीले बगाएको सडक विभागको तथ्यांक छ। रसुवाको स्याफ्रुबेँसीस्थित हाइड्रोपावर बेलिब्रिज र त्यहीँको पक्की पुल बाढीले बगाएको छ। रसुवामा हाकु प्रथम र हाकु दोस्रो बेलिब्रिज बगेका छन्। माथिल्लो त्रिशूली हाइड्रोपावरमा बनेका बेलिब्रिज र मैलुङको बेलिब्रिज पनि पूर्णरूपले बगेका छन्। मैल्युङमा त्रिशूली-३ ‘ए’ ड्याम नजिकको पक्की पुल पनि बगेको छ। ड्याम २ नजिकको पक्की पुल पनि बाढीले बगाएको छ। खाल्टेस्थित रसुवा–नुवाकोट सीमामा पर्ने भोटेकोशी नदीको पुल पूर्णरूपले बगेको छ। साथै, बेत्रावतीको पुरानो तथा नयाँ दुवै पक्की पुल बाढीले बगाएको छ। नुवाकोटतर्फ त्रिशूली तुप्चेस्थित पक्की पुल पूर्णरूपमा बगेको छ। त्रिशूली बजारमा पुरानो र नयाँ दुवै पक्की पुल बाढीको चपेटामा परेका छन्। सिमचौरस्थित त्रिशूली नदीको पक्की पुल पनि पूर्णरूपले बगेको छ। देवीघाटस्थित झोलुङ्गे पुल र त्रिशूली नदीको पक्की पुल बगेका छन्। देवीघाटको तादी खोला पुरानो तथा नयाँ दुवै पक्की पुल बाढीले बगाएको छ। श्रीखालीस्थित त्रिशूली नदीको पुल, बुद्धसिंहघाटस्थित त्रिशूली नदीमाथिको पुल, रातमाटे र केउरेनीमा पनि पुल बाढीले बगाएको छ। धादिङमा गल्छी नजिक त्रिशूली पुल भने जोगिएको छ। तर, गल्छीभन्दा तल बैरेनी–सल्यानटार सडकमा बनेको त्रिशूली पुल बाढीले बगाएको छ। ह्यामलेट रिसोर्ट नजिक त्रिशूली नदीको पक्की पुल क्षतिग्रस्त भएको छ। धादिङकै जरे बगैँचास्थित, घाटबेँसीस्थित र कोल्पु खोलाका नयाँ पुराना दुवै पुल बाढीले बगाएका छन्। मलेखुस्थित फुर्के खोला पुल पनि बगेको छ। बेनीघाट र फिस्लिङस्थित त्रिशूली नदीका पुल भने जोगिएका छन्। यसभित्र चितवनको चुम्लिङटारस्थित बेलिब्रिज र मुग्लिनस्थित नयाँ आर्क पुल तथा पुरानो सस्पेन्सन ब्रिज पनि बाढीबाट सुरक्षित रहेको सडक विभागले जनाएको छ।






