
चीनले नेपालका बाढीपीडितहरूको लागि घोषणा गरेको लगभग ३० करोड रुपैयाँको नगद सहयोग आइतबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेको छ। चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ रेडक्रसले दिएको ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाए। राजदूत माओमिङले थप ५० टन राहत सामग्री काठमाडौं आइपुगेको, उद्धार टोली र ड्रोन ल्याउने कार्य भइरहेको र चीनमा रोकिएका नेपालीलाई फिर्ता ल्याउने पहल चलिरहेको जानकारी दिए।
१४ भदौ, काठमाडौं। चीन सरकारले नेपालका बाढीपीडितहरूको लागि घोषणा गरेको नगद सहयोग हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले लगभग ३० करोड ५० लाख नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरे। सोहीअनुरूप, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर)को नगद पनि हस्तान्तरण गरे।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको ठूलो प्रकोपको कारण नेपाल र चीनले भोगेको विपत्तिलाई दुई देशले मिलेर सामना गर्ने बताए। नेपालप्रति चीनको समर्पण रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको उल्लेख गर्दै राजदूत माओमिङले चीन सरकारले गरेका अरु सहयोग पनि नेपालमा उपलब्ध भइसकेको जानकारी दिए।
आज मात्र दुईवटा चिनियाँ जहाजले ५० टन त्रिपाल, कम्बल, सुत्ने झोला, मेडिकल किट र बिस्कुट जस्ता राहत सामग्री काठमाडौं ल्याएको र थप सहयोग निरन्तर जारी रहने बताए। रसुवा क्षेत्रमा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाकाबाट नेपाल फिर्ता ल्याउने प्रयास भइरहेको उनले अर्थमन्त्रीलाई जानकारी दिए।
त्यस्तै, जलविद्युत कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि हिजो मात्र चिनियाँ हेलिकप्टरसहित दक्ष उद्धार जनशक्ति नेपाल आएको र थप केही प्राविधिक आज आइपुगेको जानकारी राजदूत माओमिङले दिनुभयो। सरकारले उद्धारका लागि माग गरेको ठूलो आकारको सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको कुरा पनि अर्थमन्त्रीलाई जानकारी गराए।
नेपाल सरकारका तर्फबाट चिनियाँ सहायता रकम ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले नेपाललाई गरिएको यो महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे। विपत्तिमा दुवै देशले उत्कृष्ट मानवीय र भौतिक क्षति व्यहोर्नु परेकोमा चिन्धा प्रकट गर्दै चीनले भोगेको क्षतिको दुःख व्यक्त गरे। उनले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरी उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गरे।
विश्वव्यापी जलवायु परिवर्तनको विनाशकारी प्रभाव हिमालय क्षेत्रका मुलुकहरूले बेहोर्नु पर्ने कुरालाई औंल्याउँदै उनले यसको सामना गर्न नेपाल र चीनबीच समन्वित सहकार्य आवश्यक भएको बताए। यस पटकको बाढीबाट नेपालले भोग्नु परेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा व्यक्त गरे।
सहायता हस्तान्तरण कार्यक्रम अर्थमन्त्रीको कार्यकक्षमा सम्पन्न भयो जहाँ अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत माओमिङले बाढीबाट ज्यान गुमाएका दुवै देशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन बसे।






