Skip to main content

बाढी प्रभावितलाई राहत प्रदान गर्दै अभिनेत्री एलिजा गौतम

रसुवा, नुवाकोट हुँदै धादिङको ढुँडेसम्म आएको बाढीबाट प्रभावित गल्छी गाउँपालिका-३ का बाढीपीडितलाई अभिनेत्री एलिजा गौतमले धादिङ क्याम्पसमा खाना खुवाइन्। बाढीले धादिङका विभिन्न स्थानमा घर र संरचना बगाएको छ, धेरै परिवार विस्थापित भएका छन् र केहीले आफन्तसमेत गुमाएका छन्। विपत्तिपछि सुरक्षित स्थानमा आश्रय लिएका परिवारलाई खाद्यान्न, आवास र अन्य आधारभूत आवश्यकताको खाँचो रहेको छ।

धादिङ। रसुवा, नुवाकोट हुँदै धादिङको ढुँडेसम्म आएको बाढीले प्रभावित व्यक्तिहरूलाई अभिनेत्री एलिजा गौतमले राहत प्रदान गरेकी छन्। गौतमले गल्छी गाउँपालिका-३ स्थित धादिङ क्याम्पसमा आश्रय लिएर बसिरहेका बाढी पीडितलाई खाना खुवाएकी छन्। बाढीले घरबार बगाउँदा अस्थायी आश्रयमा रहेका नागरिकहरुलाई उनले खाना वितरण गरेकी थिइन्। बाढीले उक्त क्षेत्रमा विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ।

कयौँ घर र संरचना बगाउनुका साथै धेरै परिवार विस्थापित भएका छन्। केहीले आफन्तसमेत गुमाएका छन्। विपत्तिपछि सुरक्षित स्थानमा आश्रय लिएर बसेका प्रभावित परिवारलाई अहिले पनि खाद्यान्न, आवास तथा अन्य आधारभूत आवश्यकताको ठूलो खाँचो छ। यही अवस्थालाई मध्यनजर गर्दै गौतम पीडितहरु बसेको स्थलमै पुगेर खाना खुवाएकी छन्।

पीडितहरूसँग प्रत्यक्ष भेटघाट गर्दै गौतमले उनीहरूको अवस्था बुझिन्। विपत्तिको समयमा पीडितको साथ दिनुपर्ने बताउँदै उनले मानवीय सहयोगलाई प्राथमिकता दिएकी छन्। बाढीले घर–सम्पत्ति गुमाएका र आफन्त गुमाएर पीडामा रहेका परिवारहरूका लागि यस्तो सहयोगले तत्काल आवश्यकतालाई पूर्ति गर्न र मनोबल बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन र प्रभावितको पुनःस्थापनाका लागि अझै ठूलो सहयोग आवश्यक छ। राज्य तथा विभिन्न संघसंस्थासँगै व्यक्तिगत तहबाट हुने सहयोगहरूले विपत्तिमा परेका नागरिकलाई राहत पुर्याउने देखिन्छ।