भोटेकोशी-त्रिशूली बाढीपछि बाह्य सहयोग: नेपाललाई के के चाहिएको छ र के के आइरहेका छन्?

विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य जारी रहेका बेला तत्काल खाँचो परेका चारपाँच किसिमका सहयोगका विषयमा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय भइरहेको र तीमध्ये केही सहयोग प्राप्त भइसकेका तथा केही प्राप्त हुने क्रममा रहेका अधिकारीहरूले बताएका छन्। “खोज तथा उद्धारका निम्ति ‘टनल टीम’, जीवित व्यक्तिहरू कतै फसेका भए त्यसको सङ्केत पत्ता लगाउने ‘स्क्यानर’, तत्काल ‘डीएनए’ विश्लेषण गर्न सक्ने ‘फोरेन्सिक’ प्रविधि तथा शव राख्ने ‘फ्रीजर’ र बेलिब्रिजहरूबारे सुरुकै दिनदेखि समन्वय गरेका हौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने। भोटेकोशी–त्रिशूली करिडोरमा रहेका विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा थुप्रै कामदार फसेका ठानिएको छ।
सरकारले खोज तथा उद्धार कार्यमा विदेशी विशेषज्ञको सहायता नलिएर धेरैको ज्यान जोखिममा पारेको भन्दै कतिपयले आलोचना गरिरहेका बेला मन्त्रालयका प्रवक्ताले त्यसमा सत्यता नभएको दावी गरे। “सरकारले सुरुमा (खोज तथा उद्धारका निम्ति) सहायता मागेन भनेर भनिराखिएको छ तर चीन र भारतबाट आएका (विशेषज्ञको) समूह प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेका छन्,” प्रवक्ता क्षेत्रीले भने। “त्यसको अर्थ पृष्ठभूमिमा काम भइरहेको थियो भन्ने हो। घटना भएको दिन मात्रै केही समय अन्यौल भएको हो, लगत्तै मित्रराष्ट्रहरूसँग समन्वय थालेका थियौँ। (सहायता) लिन्नौँ भन्ने कुरा होइन।” तर विसं २०७२ को भूकम्पपछि पुनर्निर्माण प्राधिकरणको नेतृत्व गरिसकेका गोविन्दराज पोखरेल भने तत्कालीन आवश्यकताको गतिसँग सरकारले तालमेल मिलाउन नसकेको टिप्पणी गर्छन्। “दातृ राष्ट्रहरूले सहयोगका निम्ति चासो देखाउँदा पनि सरकारले सुरुमै निश्चित मागहरू प्रस्तुत गरेन। सडक सञ्जाल टुटेका कतिपय ठाउँमा अहिलेसम्म उद्धार र राहतका निम्ति हेलिकप्टर पुगेका छैनन्। भूकम्पका बेला हेलिकप्टरहरू मागेका थियौँ र आएका पनि थिए।”
अधिकारीहरूका अनुसार बुधवारको भीषण बाढीपछि उद्धार कार्यका लागि केही विशेषज्ञ टोली नेपाल आइसकेका छन् भने उद्धार सामग्रीहरू प्राप्त हुने क्रम जारी छ। “भोटेकोशी-त्रिशूली क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमध्ये कतिपयमा २० मिटरभित्रसम्म बाढीले बगाएर ल्याएको लेदो थुप्रिएकाले हामीलाई उद्धार कार्य सञ्चालन गर्न समस्या परिराखेको थियो,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग भने, “भारत र चीनबाट आएका विशेषज्ञ टोलीहरूले यतिबेला हाम्रा सुरक्षा निकायहरूसँग मिलेर त्यहाँ काम गरिराखेका छन्।” “अन्य देशहरूले पनि उद्धार कार्यका निम्ति प्रस्ताव गरेका छन् तर शनिवारदेखि नै ‘फील्ड’मा काम भइरहेकाले हामी ‘पर्ख र हेर’को स्थितिमा छौँ। थप चाहिने महसुस गर्यौँ भने विशेषज्ञहरू मगाउँछौँ।”






