काठमाडौं रेड्सले सगरमाथालाई पराजित गर्दै नेपाल भलिबल लिग रोमाञ्चक मोडमा प्रवेश गर्याे

काठमाडौं, २३ भदौ । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा मंगलबार सगरमाथा स्म्यासर्सलाई ३-१ सेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा काठमाडौंले पहिलो सेटमा २५-१२ ले सहजै आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो। तर, दोस्रो सेट सगरमाथाले २५-२२ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्यो। त्यसपछि काठमाडौंले लगातार दुई सेट २५-१८ र २५-२० ले जित्दै खेलमा विजय हासिल गर्यो।
काठमाडौंको यो दोस्रो जित हो भने सगरमाथाको लगातार दोस्रो हार हो। यस नतिजापछि लिग रोमाञ्चक मोडमा पुगेको छ। काठमाडौं ३ खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा रहेको छ। लिग चरणमा अझै दुई खेल खेल्न बाँकी रहेकोले काठमाडौंको लागि यो जित महत्वपूर्ण बन्न सक्छ। काठमाडौंले अब लिगको शीर्ष स्थानमा रहेको कर्णाली शिवराज र खप्तड फाल्कन्ससँग खेल्न बाँकी छ।
सगरमाथाले ४ खेल खेलिसकेको छ र ७ अंकसहित दोस्रो स्थानमा छ। अब सगरमाथाले लिग चरणको अन्तिम खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग खेल्न बाँकी छ। मंगलबारको पहिलो खेलमा मधेश वारियर्सले खप्तड फाल्कन्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हात पारेको छ। खप्तड भने लगातार तीन खेलमा पराजित भएको छ र अंकविहीन छ। लिगमा बुधबार पनि दुई खेल हुनेछन्। पहिलो खेल अन्नपूर्ण र खप्तडबीच अपरान्ह ४ बजे सुरु हुनेछ।
केडिया ग्रुपको आयोजनामा पहिलो पटक भइरहेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणपछि शीर्ष स्थानको टोली सिधै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। फाइनल खेल भदौ २७ गते हुनेछ। विजेताले नगद २० लाख पुरस्कार प्राप्त गर्नेछन्।





