Skip to main content

पाकिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा पाँच लडाकु मारिए, २३ नागरिक उद्धार

बलुचिस्तानको कलात नजिकै सुरक्षाकर्मीको कारबाहीमा पाँच जना लडाकु मारिएका छन् भने २३ जना अपहरित नागरिक उद्धार गरिएको छ। लडाकुले पाकिस्तान हाइवे (एन–२५) मा अवैध चेकपोस्ट बनाएर यात्रु अपहरण, फिरौती असुली र सवारी साधन कब्जा गर्न खोजेका थिए। कारबाहीमा ६ वटा ट्रक, ३ वटा बस, २ वटा कार, ठूलो मात्रामा हतियार, गोली र विस्फोटक पदार्थ बरामद गरिएको छ।

५ असोज, इस्लामाबाद (रासस/सिन्ह्वा) – पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सुरक्षा बलहरूले सञ्चालन गरेको कारबाहीमा पाँच जना लडाकु मारिएका छन् भने २३ जना अपहरित नागरिक उद्धार गरिएको छ। सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) को जानकारी अनुसार, शुक्रबार राति कलात नजिकै पाकिस्तान हाइवे (एन–२५) मा लडाकुहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुली गर्ने र सवारी साधन कब्जा गर्ने उद्देश्यले अवैध रुपमा चेकपोस्ट स्थापना गर्न खोजेका थिए।

लडाकुहरूको गतिविधिबारे थाहा पाएपछि सुरक्षा बलले तत्काल कारबाही सुरु गरेको थियो, जसमा गोली हानाहान हुँदा पाँच जना लडाकु मारिएका छन्। त्यसपछि सुरक्षा बलले लडाकुहरूको एक आश्रयस्थलमा छापा मारेर २३ जना अपहरित नागरिकलाई सुरक्षित उद्धार गरेको छ। कारबाहीका क्रममा लडाकुहरूले कब्जा गरेका ६ वटा ट्रक, ३ वटा बस र २ वटा कार पनि बरामद गरिएको छ। त्यसै गरी ठूलो मात्रामा हतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थहरू पनि फेला परेका छन्। सेनाका अनुसार, उक्त घटनापछि अरु लडाकुहरूको खोजी र सुरक्षा कारबाही क्षेत्रभर जारी छ। राष्ट्रिय राजमार्गको रणनीतिक महत्वलाई ध्यानमा राखी स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न तथा यातायातलाई सुरक्षित बनाउन सुरक्षा बलहरूले निगरानी र खोजी अभियान निरन्तर जारी राख्दैछन्।