Skip to main content

राष्ट्रसंघ महासभामा ट्रम्पको भाषण : क्युबा र इरानले बहिष्कार गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन्। हालै मात्र ट्रम्पले महासभालाई सम्बोधन गरेका हुन्। ट्रम्पको भाषणका क्रममा भएको विवादपछि इरानी र क्युबाली प्रतिनिधिमण्डलले उनको सम्बोधन बहिष्कार गरेका छन्। दुवै देशका प्रतिनिधिमण्डल सभाकक्षबाट उठेर बाहिरिएका हुन्। ट्रम्पले आफ्नो प्रशासनले क्युबाको अवस्थालाई ‘मूलभूत रूपमा परिवर्तन’ गर्ने प्रयासमा रहेको बताएका थिए। उनले क्युबालाई कम्युनिस्ट शासनद्वारा सञ्चालित र अहिले ठूलो दबाबमा रहेको दाबी गर्दै भने, ‘यो पूर्णरूपले असफल राज्य हो। यो सबैभन्दा खराब अवस्थामा छ र अन्ततः ढल्नेछ,’ ट्रम्पले बताएका थिए। उनी अमेरिकामा कम्युनिज्म कहिल्यै नआउने तर क्युबामा स्वतन्त्रता अवश्य आउने दाबी पनि गरेका थिए। ट्रम्पले यी भनाइ राख्दै गर्दा क्युबाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको सभाकक्षबाट बाहिरिएका थिए।

त्यसैगरी, ट्रम्पले इरानमाथि अमेरिकाले पटक–पटक गरेको सैन्य कारबाहीको चर्चा गर्दा पनि इरानी प्रतिनिधिमण्डलले महासभाको सभाकक्षबाट बाहिरिएका थिए। ट्रम्पले इरानमाथि भएका अमेरिकी सैन्य आक्रमणबारे कुरा गर्दा इरानी प्रतिनिधिमण्डलका सदस्यहरू क्रमशः बाहिरिएका थिए। अन्ततः तल्लो तहका एक कर्मचारीमात्र सभाकक्षमा रहेका थिए। इरानी राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अराघची वार्षिक महासभामा सहभागी हुन न्युयोर्क पुगेका थिए। तर, उनीहरू अमेरिकी राष्ट्रपतिको सम्बोधनका बेला महासभाको मुख्य सभाकक्षमा उपस्थित भएनन्।