Skip to main content

विश्व गोजुरियो कराते प्रतियोगितामा भाग लिने खेलाडीहरूको बिदाइ कार्यक्रम

एभरेष्ट मार्शल आर्ट्स ट्रेनिङ क्लबले आठौं डब्लूजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा भाग लिन जाने आफ्ना १५ खेलाडीहरूलाई शुक्रबार बिदाइ गरेको छ। सो प्रतियोगिता भारतको पुणेमा अक्टोबर ५ देखि १० गतेसम्म सञ्चालन हुनेछ। टोली बुधबार भारत प्रस्थान गर्ने र काता तथा कुमुते विधामा प्रतिस्पर्धा गर्नेछ। प्रशिक्षक रन्जिता रिजाल र व्यवस्थापक आयुशा नेपाली यस टोलीसँग छन्।

खेलाडीहरूमा अन्भी शाही, मनीषा तामाङ, रितु कार्की, बन्दना तामाङ, राजीव चौधरी, यानोज महर्जन, भासराज दाहाल, दिप्सन सापकोटा, यजु महर्जन, सुविता गौतम, मेलिसा गुरुङ, सविर श्रेष्ठ डंगोल, जेमिन महर्जन, विजय बुढा र अनमोल रम्तेल रहेका छन्। यी खेलाडीहरूले काता र कुमुतेमा भाग लिनेछन्।

प्रतियोगितामा निर्णायकको रूपमा रवि शाही र प्रशंसा पहाडी सक्रिय हुनेछन्। टोलीलाई मौरिस्का मानार्थ वाणिज्यदूत तथा नेपाल कराते महासंघका सल्लाहकार गणेश कार्की, आरजे स्पोर्ट्सका प्रोप्राइटर रमेश रुपाखेती, समृद्धि स्कूलका इसीए निर्देशक विकास शाह लगायतले बिदाइ गरेका थिए। सो अवसरमा आरजे स्पोर्ट्सले टोलीलाई प्रायोजन गरेको टिसर्ट पनि हस्तान्तरण गरिएको थियो।