Skip to main content

भोटेकोशी-त्रिशूली बाढी: ‘रसुवामा दशैँका सामान बगाए, बाँकी सामानहरू कोरला नाकामा अड्किए’

दशैँ लगायत चाडपर्व नजिकिँदै गर्दा चीनबाट रसुवाको टिमुरे हुँदै आएका वस्त्रहरू भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेपछि केरुङमा रोकिएका कारण बचेका थोरै सामान व्यवसायी भक्त पराजुलीले कोरला नाकातर्फ पठाएका थिए। काठमाण्डूबाट करिब चार घण्टामा पुगिने १०० किलोमिटर मात्र टाढाको तातोपानी नाकामा चीनबाट राजधानीसम्म सामान ल्याउन सबैभन्दा छोटो मार्ग हो। तर चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेर पठाएपछि नेपालमा आयात हुने वस्तुहरू उक्त बाटो हुँदै आइरहेका छन्। तर करिब एक महिनामा कोरला नाकासम्मको मार्गका धेरै स्थानहरूमा पहिरो र कटान भएका छन्। अधिकारीहरूले यो मार्ग खोल्न कम्तीमा १० दिन लाग्ने अनुमान गरेका छन्।

“रसुवामा भन्सारबाट सामान आउने क्रममा बाढीले सबै बगायो। बाँकी सामान कोरला पठाएको हुँ, तर दशैँ अघि भने आइपुग्ने छैन,” हिमालय सीमापार व्यापार सङ्घका भूतपूर्व वरिष्ठ सचिव पराजुलीले बताए। नेपालमा दशैँतिहारमा नयां लुगा लगाउने र उपहार दिने चलनका कारण चीनमा उत्पादित कपडाको माग चाडपर्वअघि अत्यधिक हुने व्यवसायीहरूले बताए। कोरलाबाट सामान राजधानीसम्म आइपुग्न तीन दिन लाग्ने भए पनि पराजुलीले कोरला नाका खुलेपछि पनि दशैँका लागि सामान बेच्न समस्या हुने बताए। गत बिहीबारदेखि आइतवारसम्म परेको वर्षाले कोरला नाका नजिक हिउँ जम्मिएको र कालीगण्डकी करिडर सडकका धेरै स्थान अवरुद्ध भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

“यस क्षेत्रका सामानहरू डाइभर्ट गरेर कोरला नाकाबाट ल्याउनेलाई सहज पार्न खोज्दा पनि अहिले भर्खरैको बर्षाले सडक अवरुद्ध बनेको छ। त्यहाँ दुईवटा नाका पहिलादेखि नै बन्द छन्। यसकारण हामीले उत्तरी सीमा हुँदै आउने मालबस्तुमा प्रत्यक्ष असर भएको छ,” बस्नेतले बताए। नेपाल र चीनबीच १३ वटा व्यापारिक नाका छन्, तीमध्ये तीन नाका मात्रै मोटर आवागमनको लागि खुला छन्। कोरला नाकासम्मको बाटो खुल्न कति समय लाग्छ? मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार जोमसोमदेखि कोरला नाकासम्म स्थानीय पहिरोका कारण सडक अवरुद्ध छ भने लेतेबाट म्याग्दीसम्म पनि धेरै ठाउँमा अवरुद्ध छ। सडक अवरुद्ध हुँदा मुस्ताङ सदरमुकाम राष्ट्रिय सडक सञ्जालबाट अलग भएको बताइन्।