
यमनमा हालको बढ्दो तनावका कारण आन्तरिक विस्थापन भएका व्यक्तिहरूको संख्या करिब एक लाख ९८ हजार पुगेको त्यहाँको सरकारले जनाएको छ। यमनमा आन्तरिक विस्थापितहरूका लागि सञ्चालित शिविर व्यवस्थापन इकाइले बुधबारसम्म एक लाख ९७ हजार ९०६ जनालाई आधिकारिक रूपमा दर्ता गरिएको जानकारी दिएको छ। ती व्यक्तिहरू २९ हजार ५१९ परिवारका सदस्यहरू हुन्।
इकाइले जारी रहेको सैन्य तनाव, प्रत्यक्ष गोलाबारी र बिग्रँदो सुरक्षा अवस्थाका कारण ‘बलपूर्वक विस्थापनका घटनाहरू थप गम्भीर बन्दै गएको’ जनाएको छ। यी परिस्थितिहरूले सर्वसाधारणको जीवन र सुरक्षामा गम्भीर खतराहरू ल्याएको पनि इकाइले उल्लेख गरेको छ। विस्थापन भएका मध्ये सबैभन्दा धेरै व्यक्ति ताइज प्रान्तमा रहेका छन्, जहाँ ९७ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। त्यसपछि लहज प्रान्तमा ५० हजारभन्दा बढी मानिस विस्थापित भएका तथ्यांक देखिन्छ। यसअघि युनिसेफले सार्वजनिक गरेको तथ्यांक अनुसार यमनमा करिब एक लाख ३४ हजार आन्तरिक विस्थापित रहेका छन्।






