Skip to main content

भुटान पुरुष क्रिकेट टोली पोखरा भ्रमणमा चारवटै अभ्यास खेलमा पराजित

१६ असोज, काठमाडौं । पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार सम्पन्न आफ्नो चौथो अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो । यससँगै भुटान सबै अभ्यास खेलमा पराजित हुन पुगेको छ । क्यान–११ द्वारा निर्धारित १७७ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ३ बलमा ७२ रनमै अलआउट भयो ।

भुटानलाई कम स्कोरमा समेट्न क्यान–११ का विपिन शर्मा एक्लैले ५ विकेट लिए । उनले ४ ओभरमा ७ रन खर्चेर ५ विकेट हात पारेका थिए । आकाश चन्दले २, रसिद खान, प्रकाश जैशी र कप्तान विपिन खत्रीले एकएक विकेट लिए । ब्याटिङतर्फ भुटानका सोनाम चोपेल, टाशी फुन्त्शो र आनन्द दोर्जीले समान १५ रन बनाए । नाम्गे थिन्लेले १३, रञ्जुङ मिक्यो दोर्जीले १ र छिरिङ टाशीले ६ रन बनाएर आउट हुँदा सोनाम येशे २ रनमै अविजित रहे ।

तेञ्जिन राब्गे, नाम्गाङ चोजय, गकुल कुमार घाले र कर्मा दोर्जीले कुनै रन जोड्न सकेनन् । यसअघि टस हारेर पहिला ब्याटिङ थालेको क्यान–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो । क्यान–११ का लागि ओपनर तृतराज दासले अर्धशतकीय पारिश्रमिक पुरा गरे । उनले ३१ बलमा ५१ रन बनाए । मयन यादव २६, वंश क्षेत्री ४, सिब्रिन श्रेष्ठ १९, रसिद खान २४ र प्रकाश जैशी ४ रनमा आउट भए भने कप्तान विपिन खत्री ३८ र युवराज खत्री १ रनमै अविजित रहे ।

दीपक कुमार डुम्रेले कुनै रन जोड्न सकेनन् । बलिङतर्फ भुटानका आनन्दले ३, गकुलले २, सोनाम येशे र नाम्गे थिन्लेले एकएक विकेट लिए । अब भुटान अक्टोबर ५ बाट सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ खेल्न मलेसिया जानेछ ।