पुटिनको चेतावनी: कुनै देशमाथि आक्रमण गर्ने छैनौं, सबै हतियार प्रयोग गरी प्रत्याक्रमण गर्ने तयारीमा छौं

१६ असोज, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युरोपका कुनै पनि देशमाथि आक्रमण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। बिहीबार वाल्दाई फोरममा बोल्दै उनले भने कि यदि रूसको कुनै भूभागमाथि आक्रमण गरियो भने आफ्नो सुरक्षाको लागि सबै हतियार प्रयोग गरी प्रत्याक्रमण गर्नेछन्। पुटिनले पश्चिमी देशहरू र युरोपमाथि तनाव वृद्धि भएको आरोप समेत लगाए।
उनका अनुसार, पश्चिमी देशहरूले आगामी वर्षहरूमा रूससँग युद्धको तयारी गर्दैछन्, बाल्टिक सागरमा सैन्य अभ्यास गरिरहेका छन् र रूसी पानीजहाज जफत गरिरहेका छन्। नेटोका कुनै पनि सदस्य राष्ट्रले रूसको कालिनिनग्राद क्षेत्रलाई बाँकी रूसबाट अलग गर्ने प्रयास गरेमा मस्कोले यसको रक्षामा परमाणु हतियार प्रयोग गर्न सक्ने चेतावनी पुटिनले दिएका छन्।
पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरन्तर युक्रेन युद्ध अन्त्य गर्ने विषय उठाइरहेको बताए र दुवै पक्षले स्वीकृत गर्नसक्ने राम्रा सुझावहरू रहेको उल्लेख गरे। कार्यक्रममा, पुटिनले प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्दै भने, ‘मोदी हाम्रा असल मित्र हुन् र उनी लगातार युक्रेन युद्ध अन्त्य गर्ने विषयमा जोड दिन्छन्। उनी छिट्टै युद्ध अन्त्य होस् भन्ने पक्षमा छन्। म यसको लागि उहाँप्रति आभार प्रकट गर्दछु।’ उनले थपे, ‘धेरै कम मानिसलाई थाहा छ, तर प्रधानमन्त्री मोदीले मलाई बताउनुभएको थियो कि भारतको १.५ अर्ब जनसंख्यामध्ये करिब ६० करोड मानिस हिन्दी बोल्छन्। बाँकी मानिसहरूले फरक-फरक भाषा बोल्छन्। यति हुँदाहुँदै पनि सबैजना मिलेर बसेका छन्।’






