Skip to main content

आईसीसी क्रिकेट विश्वकप छनोट दक्षिण अफ्रिका र नामिबियामा हुने

१६ असोज, काठमाडौं । आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि १० टोलीलाई समेटेर क्वालिफायर प्रतियोगिता दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। यो प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ। विश्वकपको मुख्य प्रतिस्पर्धाका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय श्रेणीका शीर्ष आठ टोलीहरू स्वतः छनोट भइसकेका छन्। भारत, न्यूजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश सबैले मुख्य प्रतियोगिताको लागि स्वतः छनोट प्राप्त गरेका छन्।

बाकी चार स्थानका लागि १० टोलीले क्वालिफायर खेल्नेछन्। उक्त क्वालिफायरमा वेस्ट इन्डिज र आयरल्यान्डसमेत विश्व क्रिकेट लिग २ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन्। वर्तमान लिग २ मा शीर्ष चार टोलीहरू स्कटल्याण्ड, अमेरिका, नेदरल्यान्ड्स र ओमान रहेका छन् भने नामिबिया, क्यानडा, नेपाल र यूएई लिगको तल्लो चारमा छन्। लिग २ का केही शृंखलाहरू अझै बाँकी छन्।

लिग २ को तल्लो चार टोलीसँगै च्यालेन्ज लिगका शीर्ष चार टोलीहरू इटाली, युगान्डा, जर्सी र कुवेतले पनि विश्वकप छनोटमा स्थान बनाउनेछन्। विश्वकप छनोट प्लेअफ डिसेम्बर १ देखि २२ सम्म हुने तय भए पनि यसको आयोजना स्थल अझै निश्चित भएको छैन। क्वालिफायर अन्तर्गत विजेता टोली सिधै विश्वकपको मुख्य समूह चरणमा प्रवेश गर्नेछ। बाँकी तीन टोलीले नामिबियामा तीन खेलको सुपर सिरिज खेल्नेछन् र यसको विजेताले पनि विश्वकपको मुख्य समूह चरण प्रवेश गर्ने सुनिश्चित गर्नेछ।

विश्वकप छनोटको क्वालिफायरमा पुग्न नामिबियाले प्लेअफ खेल्नुपर्ने अवस्थाबाट बच्न सक्छ। त्यसका लागि अक्टोबर ३ देखि सुरु हुने खेलमा अमेरिका र यूएईविरुद्ध दुई–दुई खेल जित्नुपर्नेछ र ओमान, नेपाल तथा क्यानडाबीचको खेलको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ। प्रारम्भमा आईसीसीले क्वालिफायर फेब्रुअरी २२ देखि मार्च २३ सम्म गरिने बताएको थियो भने गत साता दुबईमा भएको आईसीसी बैठकले फेब्रुअरी २६ देखि मार्च २१ सम्म नयाँ मिति तय गरेको छ। -क्रिकइन्फोको सहयोगमा