Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

फ्लाई दुबईका क्याप्टेनले नेतन्याहुलाई आक्रमणको क्षण सुनाए

Advertisement800×200-1

१८ असोज, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फ्लाई दुबईका क्याप्टेन स्मित मच्छारलाई आगामी इजरायली स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन निम्तो दिएका छन्। प्रधानमन्त्री नेतन्याहुले क्याप्टेन स्मितसँग टेलिफोन कुराकानी गर्दै स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिएका हुन्। उनले यस्तो सम्मान सामान्यत: इजरायली नागरिकलाई मात्र प्रदान गरिने उल्लेख गर्दै मच्छरको साहस र विमानमा रहेका यात्रुको ज्यान जोगाउन खेलेको भूमिकाको सम्मानमा उनलाई विशेष रूपमा निम्त्याउन चाहेको बताए।

‘म तपाईं र मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो आगामी स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिन चाहन्छु। तपाईं भारत र इजरायलका वीर जनताको सच्चा नायक हुनुहुन्छ। तपाईं सम्पूर्ण विश्वकै नायक हुनुहुन्छ,’ नेतन्याहुले भनेका छन्। उनले क्याप्टेन स्मितलाई श्रीमती र छोराछोरीसहित इजरायल आउन भनेका छन्। यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानका भारतीय पाइलट स्मित मच्छारलाई को–पाइलट ओमानका हमाम अल हमामीले ‘क्र्यास एक्स’ भनिने आपत्कालीन औजारले आक्रमण गरेका थिए। यो ‘हिंसात्मक घटना’ पछि पनि घाइते पाइलटले विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरेर सकुशल अवतरण गराएका थिए।

उडान नम्बर एफजेड–१०७३ को बोइङ ७३७ म्याक्स ८ विमानमा सवार सबै १७४ जनाको ज्यान जोगाएपछि क्याप्टेन स्मितको विश्वभर प्रशंसा भइरहेको छ। उनीसँगको टेलिफोन कुराकानीका क्रममा नेतन्याहुले पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्। मच्छरले उडानका क्रममा सहपाइलटले आफूलाई पछाडिबाट आक्रमण गरेको र त्यसपछि आफूले ककपिटको ढोका खोलेर विमानको नियन्त्रण सम्हाल्न अन्य चालक दलका सदस्यलाई अवसर दिएको घटनाबारे नेतन्याहुलाई सुनाएका छन्। यो कुराकानी इजरायली प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा अपलोड गरिएको छ।

कुराकानीको सम्पादित अंशमा स्मितले भनेका छन्, “यो सामान्य उडान थियो। सहपाइलटले प्रार्थना गर्न चाहन्छु भनेर भने। अचानक, करिब चार–पाँच मिनेटपछि मेरो टाउकोको पछाडिपट्टि ठूलो प्रहार भयो। मेरो पहिलो सोच विमानमा कुनै ठूलो र भयावह क्षति भयो भन्ने थियो। तर त्यसपछि एकपछि अर्को गर्दै प्रहार भइरहे। मैले उनलाई रोक्ने प्रयास गरेँ। तर सुरुमै भएका प्रहारका कारण मेरो दृष्टि लगभग हराइसकेको थियो।”

नेतन्याहुले भने, “असम्भवजस्तो परिस्थितिमा पनि तपाईंले देखाउनुभएको साहस र निर्णय गर्ने क्रममा कायम राख्नुभएको धैर्य देखेर म साँच्चिकै अचम्मित छु।” उनले क्याप्टेन स्मितलाई इजरायलका नायक, भारतका नायक र सम्पूर्ण विश्वका नायकको रूपमा सम्मान गरिएको बताएका छन्।

स्मितले भने, “म निको हुन्छु, सर।” नेतन्याहुले भने, “तपाईं अब हाम्रो राष्ट्रहरूको परिवारको हिस्सा हुनुहुन्छ।”

स्मितले नेतन्याहुसँगको कुराकानीलाई ऐतिहासिक र स्मरणीय बताउँदै इजरायलमा चाँडै भेट्न चाहेको बताएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर