Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

१०औं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने निर्णयहरू के-के छन्?

Advertisement800×200-1

१८ असोज, काठमाडौं। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन, व्यवस्थापन र पूर्वतयारीको जिम्मेवारी कार्यसम्पादन समितिलाई सुम्पने निर्णय गरेको छ। कर्णाली प्रदेशको सुर्खेतलगायत जिल्लामा आयोजना हुने प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मूल आयोजक समितिले कार्यसम्पादन समितिलाई आवश्यक अधिकार सुम्पने निर्णय गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–८ स्थित रङ्गशालाको सभाहलमा आइतबार बसेको बैठकले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली, तीन अन्य टोली र आवश्यक नेपाली खेल संघसहित २१ टोलीको सहभागिता गराउने र ३२ खेल विधामा प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी थिए।

बैठकले १०औं राष्ट्रिय खेलकुद आयोजना गर्ने नेपाल सरकारको निर्णयको स्वागत गर्दै संघीय सरकारप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पनि पारित गरेको छ। स्थानीय तहदेखि खेलाडीको प्रतिभा पहिचान, उत्पादन तथा खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण कर्णालीमा आयोजना गर्ने निर्णयप्रति मूल आयोजक समितिले सरकारलाई धन्यवाद दिएको हो।

बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को व्यवस्थाअनुसार कार्यसम्पादन समितिलाई प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी आवश्यक निर्देशन दिने निर्णय गरेको छ। प्रतियोगिताका लागि आवश्यक विभिन्न समिति गठन तथा परिचालन गर्ने, बजेट तथा खर्चसम्बन्धी निर्धारित मापदण्डअनुसार खर्च व्यवस्थापन गर्ने र प्रथमपारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पनि कार्यसम्पादन समितिलाई दिइएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर