Skip to main content

‘मिस वर्ल्ड’को फिनाले ५ सेप्टेम्बरमा, लुनाको तयारी कस्तो छ?

विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को ७५औं संस्करण भियतनाममा अगस्ट ९ देखि सेप्टेम्बर ५ सम्म आयोजना गरिने आयोजकले जानकारी दिएका छन्। प्रतियोगिताको शुरुआत राजधानी हानोईमा सहभागीहरूको आगमनसँगै अगस्ट ९ मा हुनेछ भने अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर ५ मा हो ची मिन्ह सहरमा आयोजना गरिनेछ। नेपालबाट मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले प्रतियोगितामा सहभागिता जनाउँदैछिन् र उनी शारीरिक, मानसिक प्रशिक्षण र ‘ब्युटी विथ पर्पस’ परियोजनामा व्यस्त छिन्।

यस वर्षको मिस वर्ल्ड प्रतियोगिता भियतनाममा आयोजना हुँदैछ। आधिकारिक जानकारीअनुसार प्रतियोगिताको सुरुवात अगस्ट ९ मा हुने र अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर ५ मा हुने तय गरिएको छ। यस ऐतिहासिक संस्करणको घोषणा मार्च २९ मा सम्पन्न मिस वर्ल्ड भियतनामको फाइनल कार्यक्रममा गरिएको थियो। कार्यक्रममा मिस वर्ल्ड संगठनकी अध्यक्ष जुलिया मोर्ले र स्थानीय आयोजकका प्रतिनिधिहरू सहभागी थिए।

सन् १९५१ मा एरिक मोर्लेले स्थापना गरेको मिस वर्ल्डको पहिलो संस्करण लन्डनमा आयोजना गरिएको थियो। यस वर्ष संगठनले ‘ब्युटी विथ अ पर्पस’ अवधारणासहित आफ्नो ७५ वर्षको यात्रा मनाउँदै ७५औं संस्करण प्रस्तुत गर्दैछ। हाल मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले र वर्तमान मिस वर्ल्ड थाइल्याण्डकी ओपाल सुचाटा पनि भियतनाममै छन्। उनीहरूले स्थानीय आयोजकसँग सहकार्य गर्दै यस ऐतिहासिक कार्यक्रमको औपचारिक सुरुवात गरेका छन्। लुना केही महिनादेखि प्रतियोगिताको तयारीमा जुटेकी छिन्।