Skip to main content

‘टम्ब रेडर’ छायांकनमा सोफी टर्नर घाइते, छायांकन दुई हप्ताका लागि रोकियो

हलिउड अभिनेत्री सोफी टर्नरलाई टम्ब रेडर सिरिजको छायांकनका क्रममा सामान्य चोट लागेको छ र छायांकन दुई हप्तासम्म रोकिएको छ। निर्माण पक्षले टर्नरको स्वास्थ्य अवस्थाबारे विज्ञप्ति जारी गर्दै उत्पादन कार्य पूर्ण रूपमा निको हुने सम्म स्थगित गरिएको जनाएको छ। टम्ब रेडर सिरिज सन् २०२६ को सुरुवातदेखि बेलायतमा छायांकन भइरहेको छ र सोफी टर्नर लारा क्रफ्टको भूमिकामा देखिनेछिन्।

सोफी टर्नर विश्वप्रसिद्ध फिल्म श्रृंखला ‘टम्ब रेडर’ सिरिजको छायांकनका क्रममा घाइते भएकी छन्। चोट गम्भीर नरहेको भए पनि उनलाई विश्राम दिनका लागि छायांकन केही समयका लागि रोकिएको छ। सोफीलाई चोट लागेको खबर सार्वजनिक भएपछि उनका प्रशंसकहरू चिन्तित भएका छन्। यसैबीच निर्माण पक्षले विज्ञप्ति जारी गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ।

निर्माण पक्षका अनुसार टर्नरलाई सामान्य चोट लागेको हो। सावधानीका लागि उनी पूर्ण रूपमा निको हुनेसम्म छायांकन र उत्पादन कार्य अस्थायी रूपमा स्थगित गरिएको छ। छिट्टै पुनः छायांकन सुरु गरिने पनि बताइएको छ। ‘टम्ब रेडर’ सिरिजको छायांकन करिब दुई हप्तासम्म रोकिएको छ। यस अवधिमा सम्पूर्ण टिमलाई पारिश्रमिक दिइनेछ।

सिरिजको छायांकन सन् २०२६ को सुरुवातदेखि सुरु भएको थियो। जनवरी १५ तारिखमा लारा क्रफ्टको भूमिकामा टर्नरको पहिलो झलक सार्वजनिक गरिएको थियो, जसले राम्रो प्रतिक्रिया पाएको थियो। यो सिरिज मुख्य रूपमा बेलायतमा छायांकन भइरहेको छ। यो सिरिज विश्वप्रसिद्ध भिडियो गेम फ्रेन्चाइज ‘टम्ब रेडर’ मा आधारित छ, जसमा पुरातत्वविद् लारा क्रफ्टका साहसिक यात्राहरू प्रस्तुत गरिन्छन्।

सन् १९९६ मा पहिलो खेल सार्वजनिक भएदेखि यो पात्र निकै लोकप्रिय हुँदै आएको छ। यसअघि पनि यही कथामा आधारित विभिन्न चलचित्र निर्माण गरिसकिएको छ। सन् २००१ मा बनेको ‘लारा क्रफ्टः टम्ब रेडर’ मा एन्जेलिना जोलीले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। अब भने नयाँ लारा क्रफ्टका रूपमा सोफी टर्नर देखिने छिन्। टर्नरले ‘गेम अफ थ्रोन्स’ सिरिजमा ‘सान्सा स्टार्क’ को भूमिकाबाट विशेष लोकप्रियता हासिल गरेकी छन्। उनले यो भूमिका १३ वर्षको उमेरमै निभाएकी थिइन्। साथै, उनी ‘एक्स–मेन’ र ‘डार्क फिनिक्स’ जस्ता चलचित्रहरूमा पनि देखिएकी छन्।