
१६ चैत, काठमाडौं । थाइल्याण्डमा जन्मिएकी पाँचौं पुस्ताकी अमरा राईलाई विश्वभरका नेपाली मूलका नागरिकहरूको संगठन एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) थाइल्याण्ड कमिटीको अध्यक्ष पदमा चयन गरिएको छ। मार्च २९ गते आइतवार बैंककमा आयोजित कार्यक्रममा थाइल्याण्डमा जन्मेका र पुस्तौंदेखि थाइल्याण्ड र वर्ममा बसोबास गरिरहेका नेपालीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरूमा पुस्तान्तरण गर्ने एएनओको अभियानले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे। उनले स्थानीय स्तरका नेपाली संस्थाहरूसँग सहकार्य गर्दै नेपाली भाषा तथा संस्कृतिको क्षेत्रमा कामलाई अघि बढाउन सुझाव दिए।
कार्यक्रममा एएनओका महासचिव चूडामणि भट्टराईले एएनओको निवेदनलाई स्वीकृत गर्दै नेपाल सरकारले अब कुनै पनि नेपाली मूलको मानिस नेपाल आउने क्रममा विमानस्थलमा विदेशीको लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिए। क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक डा. मोहन डाँगीले नेपालीपनको विस्तारको एजेण्डाले मन छोएको बताए।
बैंककलाई कर्मभूमि बनाएर प्राध्यापनरत नेपाल पोलीसि इन्स्टिच्युटका अध्यक्ष डा. खगेन्द्र ढकालले गैरआवासीय नेपाली संघले तीन पुस्ताभित्रका नेपालीमात्र समेट्ने भएकाले त्यस बाहिरका नेपालीलाई समेट्ने संस्थाको रूपमा एएनओ आयो भन्नेमा खुसी व्यक्त गरे। एएनओको बोर्ड अफ ट्रस्टी सदस्य वात्सना राई र केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राज कर्माचार्यको समेत उपस्थिति रहेको उक्त राई नेतृत्वको एएनओ थाइल्याण्ड राष्ट्रिय कमिटीमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, बसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सिन्चुरी रहेका छन्।






