Skip to main content

काठमाडौंका पूर्व मुख्य जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व मुख्य जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए। रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप लागेको छ। उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए। जेनजी आन्दोलन दमन गरेपछि उनी काठमाडौंका मुख्य जिल्ला अधिकारीबाट एक महिना नपुग्दै हटाइएका थिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो। आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परेका थिए।

रिजाल काठमाडौंका मुख्य जिल्ला अधिकारी हुनु अघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए। तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन र आकर्षक कार्यालयहरूमा पठाउँदा पेशागत आचरण विपरित काम गरेको आरोप पनि लागेको छ। अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ। तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँगको सेटिङ, गृहसचिव गोकर्णमणि दुवाडी तथा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको अस्वभाविक गतिविधि र डायरीलगायतका विवरणमा नाम उल्लेखित व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ।