Skip to main content

राजेन्द्र मल्ल: निजी क्षेत्रको विकासका लागि उद्यमी एकताको आवश्यकता

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभामा हुने निर्वाचनमा वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

महासंघको आगामी निर्वाचन प्रक्रियालाई लक्षित गर्दै मल्लले सबै उम्मेदवारहरू सक्षम रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे। निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको तर निर्वाचनपछि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। उनले निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरूबीचको सहकार्यले मात्रै देशको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे।

‘आजको आवश्यकता भनेकै उद्यमी व्यवसायीको एकता हो। यो चुनाव हुन्छ, कोही हार्लान् कोही जित्लान्, तर चुनाव सकिएपछि हामी हातेमालो गरेर सँगै जानुपर्छ,’ मल्लले भने, ‘हामीले विगत धेरै वर्षदेखि सहकार्य गरिरहेका छौं र यही रूपले हामी सहकार्य गरेर अगाडि बढ्नेछौं।’ नेपालको निजी क्षेत्रले हाल भोगिरहेको कठिन परिस्थितिको सामना गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।