युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसले ठूलो ड्रोन आक्रमण गरेको छ। आक्रमणका बेला यात्रुहरू स्टेसनमा रोकिराखिएको रेलमा चढिरहेका थिए। युक्रेनी अधिकारीहरूका अनुसार रुसी जेट इन्जिनयुक्त ड्रोनले निप्रो रेल्वे स्टेसनको यात्रुको भीडभाड भएको प्लेटफर्ममा आक्रमण गरेको हो। आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। समाचारअनुसार ड्रोन खस्दा यात्रुहरू छिमेकी सहर जापोरिजियाका लागि छुट्न लागेको रेलमा चढ्न प्रतीक्षा गरिरहेका थिए। विस्फोटबाट निस्किएका छर्राले रेलमा समेत ठूलो क्षति पुर्याएको छ। रुसले यसअघि पनि युक्रेनको विशाल रेल सञ्जाललाई पटक–पटक निशाना बनाउँदै आएको छ। उक्त रेल सञ्जाल मानिसहरूको आवतजावत तथा अत्यावश्यक सामग्री ढुवानीका लागि व्यापक रूपमा प्रयोग हुँदै आएको छ।