गजेन्द्रनारायण सिंह अस्पतालका पाँच चिकित्सकको दरबन्दी काज फिर्ता गर्ने निर्णय

१७ चैत, सप्तरी। गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा दरबन्दी भएका पाँच चिकित्सकको काज फिर्ता गर्ने निर्णय गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराज अस्पतालमा दरबन्दी रहेका चिकित्सकहरूलाई सम्बन्धित क्षेत्रमा फर्किने गरी काज फिर्ता गर्ने निर्णय लिएको हो।
यहाँ दरबन्दी भएका नाक, कान, घाँटी (ईएनटी) सर्जन वरिष्ठ कन्सल्टेन्ट डा. रोहित बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. जोशनलाल बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. विशालकुमार देव, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. प्रकाश ढकाल र कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. सुशील समदर्शीले अन्य क्षेत्रका काज सम्हालेका थिए। डा. रोहित भरतपुर अस्पताल चितवन, डा. जोशनलाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कोशी प्रदेशअन्तर्गत, डा. विशालकुमार कोशी अस्पताल विराटनगर, डा. प्रकाश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशअन्तर्गत र डा. सुशील मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेशअन्तर्गतमा काजमा रहेका थिए, अस्पताल स्रोतले जनाएको छ।
काजमा लामो समय बाहिर रहेका चिकित्सकहरूको काज फिर्ता भएपछि अस्पतालको सेवामा सुधार आउने स्थानीयवासीहरूले अपेक्षा गरेका छन्।






