
टीनएज उमेरमा बच्चाको शरीर, मन, भावना र मूल्यहरूमा ठूला परिवर्तनहरू आउँछन् र उनीहरू प्रायः अलमलमा पर्छन्। नराम्रो साथीले बच्चाको पढाइ, व्यवहार र भविष्यमा नकारात्मक प्रभाव पार्न सक्छ, जसका लागि आमाबाबुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। आमाबाबुले बच्चालाई गलत साथीबाट जोगाउन, खुला संवाद कायम राख्न र सकारात्मक उदाहरण बन्नुपर्ने हुन्छ। ‘टीनएज’ उमेर यस्तो अवस्था हो, जसले बच्चाहरूले कुन बाटो समात्ने भन्ने सुरुवाती संकेत दिन्छ। यो उनीहरू र आमाबाबुका लागि सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील समय हो। यस उमेरमा बच्चाको शरीर मात्र होइन, मन, दिमाग, भावना र मूल्यहरूमा पनि ठूला परिवर्तनहरू आउँछन्। उनीहरू बाल्यकाल र युवावस्थाबीचमा हुन्छन्, जसले गर्दा प्रायः उनीहरू अलमलमा पर्छन् र सही-गलत छुट्याउन समस्या आउँछ। त्यसकारण धेरै टीनएजरहरूले गलत साथी छान्ने गल्ती गर्छन्। नराम्रो संगतले उनीहरूको पढाइ, व्यवहार, आत्मसम्मान र सम्पूर्ण भविष्यमा नकारात्मक प्रभाव पार्न सक्छ। यस उमेरमा बच्चाहरू अझै पूर्णरूपले परिपक्व नभएका कारण आमाबाबुको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। आमाबाबुले उनीहरूलाई सही बाटो देखाउनु, साथीको गुणस्तर चिनाउन सिकाउनु र आवश्यक परे हस्तक्षेप गर्नुपर्छ।
नराम्रो साथीका प्रमुख संकेतहरू तल उल्लेख गरिएको छन्। यी संकेतहरू देखिएमा तत्काल सतर्क हुनुपर्छ र बच्चालाई त्यस्ता व्यक्तिहरूबाट दूरी बनाउन प्रोत्साहित गर्नुपर्छ। १. घरमा नभन्नु भन्ने सल्लाह: कुनै साथीले बारम्बार ‘यो कुरा घरमा आमाबाबुलाई नभन्नु’, ‘यो हाम्रो सिक्रेट हो’ भन्दासम्म त्यसको मनमा केही गलत कुरा छ भन्ने बुझ्नुपर्छ। राम्रो साथीले कहिल्यै गोप्य कुरा सिकाउँदैन। यस्तो साथीले बच्चालाई गलत बाटोतर्फ डोर्याउन सक्छ। आमाबाबुले बच्चालाई स्पष्ट रूपमा भन्नुपर्छ कि जो कुरा घरमा भन्न डर लाग्छ, त्यो काम नगर्नु नै उत्तम हुन्छ। २. भावनात्मक दबाब दिने: यदि साथीले ‘तँ मेरो साथी हो भने यो काम गर्नैपर्छ’, ‘नगरे तँसँग साथी बन्दैन’ जस्ता भावनात्मक दबाब (ब्ल्याकमेल) दिन्छ भने यो स्पष्ट खतरा हो। सच्चा साथीले जबरजस्ती गर्दैन। यसले बच्चालाई कमजोर र निर्भर बनाउँछ। आमाबाबुले बच्चालाई सिकाउनुपर्छ कि सच्चा साथीले स्वतन्त्रता र सम्मान दिन्छ, दबाब होइन। ३. गलत कामलाई कूल भनिरहने: गलत कुरालाई ‘कूल’ वा ‘स्टाइल’ भनेर सामान्य मान्ने साथी नराम्रो संकेत हो। कक्षा बंक गर्नु, चुरोट वा मदिरा सेवन गर्नु, कसैलाई कुट्नु वा गाली गर्नुजस्ता व्यवहारलाई रमाइलो र स्वीकार्य ठहर्याउने साथीले बच्चालाई गलत दिशामा लैजान्छ। यस्ता व्यक्तिबाट तुरुन्त दूरी बनाउनुपर्छ। ४. पढाइलाई बोरिङ भन्नु: नराम्रो साथीले पढाइ, अनुशासन र शिक्षकसँगको राम्रो सम्बन्धलाई ‘बोरिङ’ वा ‘चम्चा’ भनेर हेप्छ। यस्तो साथी प्रगतिशील मित्रलाई अवमूल्यन गर्छ वा आफू जस्तै तल झार्न चाहन्छ। राम्रो साथी भनेको अन्यलाई अगाडि बढ्न प्रेरण गर्ने हो, तल झार्ने होइन। ५. बच्चामा नकारात्मक परिवर्तन देखिन थाल्नु: यदि बच्चामा नकारात्मक परिवर्तन देखिएमा यसले खराब संगतको सूचना दिन्छ। बढी झूट बोल्नु, साना कुरामा रिस उठ्नु, परिवारसँग झगडा गर्नु, पढाइबाट ध्यान हटाउनु वा मोबाइल र सामाजिक सञ्जालमा धेरै समय बिताउनु जस्ता लक्षणहरू देखिएमा सतर्क हुनुपर्छ। यस अवस्थामा आमाबाबुले तुरुन्त ध्यान दिनुपर्छ। ६. साथीको सीमालाई सम्मान नगर्नु: साथीको व्यक्तिगत सीमालाई नमान्ने बानी पनि खतरा हो। बच्चाले ‘म यो गर्दिन’ भनेपछि पनि जबरजस्ती उक्साउने वा सीमा तोड्ने साथी सच्चा साथी हुँदैनन्। राम्रो साथी ‘नाइँ’लाई सम्मान गर्छ। आमाबाबुले बच्चालाई ‘नाइँ’ भन्न सिकाउनु र आत्मसम्मान कायम राख्न तयार गराउनु पर्छ। ७. गलत काम गर्न उक्साउनु: गलत काम गर्न प्रत्यक्ष उक्साउने साथी सबैभन्दा खतरनाक हुन्छ। घरबाट पैसा चोरी गर्न लगाउने, परीक्षामा कपट गर्ने, अश्लील सामग्री हेर्न प्रेरित गर्ने जस्ता साथीबाट सकेसम्म छिटो दूरी कायम गर्नुपर्छ। यस्तो संगतले बच्चाको सम्पूर्ण जीवन नै बिगार्न सक्छ।
नराम्रो साथी चिनिएका बेला आमाबाबुले खुला र विश्वासपूर्ण संवाद कायम गर्नुपर्छ जसले गर्दा बच्चा डर नमानिकन आफनो कुरा व्यक्त गर्न सकोस्। कहिलेकाहीं साथीलाई घरमा बोलाएर वा विद्यालयमा भेटेर उनीहरूको व्यवहार बुझ्न आवश्यक हुन्छ। राम्रो साथीहरूको प्रशंसा गर्नुपर्छ र तीसँग समय बिताउन प्रोत्साहन गर्नुपर्छ। आमाबाबुले आफैं पनि सकारात्मक उदाहरण प्रस्तुत गर्नु पर्छ किनकि बच्चाले आमाबाबुको व्यवहारबाट धेरै सिक्छन्। टीनएज उमेरमा नराम्रो साथीले बच्चाको जीवनलाई गम्भीर रूपले प्रभावित पार्न सक्छ। तर आमाबाबुको सतर्कता, समझदारी, माया र निरन्तर साथले बच्चालाई सही बाटोमा फर्काउन सकिन्छ। यो उमेरमा आमाबाबुको मार्गदर्शन नै सबैभन्दा ठूलो सुरक्षा कवच हो।






