

भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम छैन, एक लाखभन्दा बढीलाई हैजाविरुद्धको खोप


काठमाडौं । स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी बाढी प्रभावित क्षेत्रमा हालसम्म कुनै महामारीको संकेत नदेखिएको जनाएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार र रोग नियन्त्रणका कार्यक्रम जारी रहेको विभागले जानकारी दिएको हो। मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।
उनका अनुसार १४ वटा होल्डिङ सेन्टरमार्फत २१ हजार ३९१ जनाले स्वास्थ्य सेवा लिएका छन्। आकस्मिक चिकित्सा टोली र स्वास्थ्य शिविरबाट थप ९ हजार ५६४ जनाले उपचार पाएका छन्। बाढी प्रभावित रसुवाका ९ हजार ३६८ जनालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ। यसका लागि १३९ जना मानसिक स्वास्थ्य जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ। परामर्श लिएका केही व्यक्तिलाई औषधोपचारसमेत आवश्यक देखिएको पौडेलले बताए।
यसैबीच, पानीको गुणस्तर परीक्षणका लागि संकलित १५ नमुनामध्ये पाँच वटामा दिसामा पाइने जीवाणु भेटिएको छ। त्यसपछि पानी शुद्धीकरणका लागि क्लोरिनेसन अभियान सञ्चालन गरिएको विभागले जनाएको छ। हैजाको सम्भावित जोखिम नियन्त्रण गर्न रसुवाका २१ हजार ६०० र नुवाकोटका ८० हजार ५२३ गरी कुल एक लाख दुई हजार १२३ जनालाई मुखबाट खुवाइने हैजाविरुद्धको खोप दिइएको छ। सम्भावित रोगको प्रकोप पहिचान र नियन्त्रणका लागि सात वटा निगरानी टोली परिचालन गरिएको छ। अर्ली वार्निङ रेस्पोन्स सिस्टम तथा इभेन्ट बेस्ड सर्भिलेन्स सिस्टममार्फत दैनिक विवरण संकलन भइरहेको विभागले जनाएको छ। प्रभावित क्षेत्रमा रुघाखोकी, ज्वरो र झाडापखालाका बिरामी देखिए पनि उनीहरूले उपचार पाइसकेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पौडेलले बताए। विभागले स्वास्थ्य निगरानी र उपचारलाई निरन्तरता दिइएको स्पष्ट पारेको छ।

सम्बन्धित खबर









