Skip to main content

नेपाली कांग्रेसले १६५ उम्मेदवारसहित चुनावी समीक्षा गर्न केन्द्रीय प्रतिनिधिहरू तोकेको छ

नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसँग चुनावी समीक्षा गर्न केन्द्रीय प्रतिनिधिहरू तोकेको छ। महामन्त्री प्रदीप पौडेलले चैत १० र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार प्रेस नोट जारी गरी जानकारी दिएका हुन्। सातै प्रदेशमा १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल र क्षेत्रगत अध्ययन गरिनेछ।

महामन्त्री पौडेलले जारी गरेको प्रेस नोटमा उल्लेख छ, “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णय अनुसार निर्वाचन समीक्षा र कांग्रेसको आगामी रणनीतिसम्बन्धी छलफल गर्न सातै प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट १६५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरूसँग चुनावी समिक्षात्मक छलफल र क्षेत्रगत अध्ययन गरिनेछ।”

तोकिएका प्रतिनिधिहरूको विवरण यसप्रकार छ: कोशी प्रदेश विराटनगर – २०८२ चैत्र २३ गते डा. डिला संग्रौला पन्त, मधेश प्रदेश जनकपुर – २०८२ चैत्र २५ गते फरमुल्लाह मंसुर, बागमती प्रदेश हेटौडा – २०८३ वैशाख ७ गते बहादुर सिंह लामा, गण्डकी प्रदेश पोखरा – २०८२ चैत्र २७ गते देवराज चालिसे, लुम्बिनी प्रदेश दाङ – २०८२ चैत्र २९ गते योगेन्द्र चौधरी, कर्णाली प्रदेश सुर्खेत – २०८३ वैशाख ३ गते कर्णबहादुर बुढा, र सुदूरपश्चिम प्रदेश कैलाली – २०८३ वैशाख ५ गते प्रकाश रसाइली।