

काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ र आउटलुक ‘स्थिर’ कायम राखेको छ। फिचले चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धि ३.४ प्रतिशत रहने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धि ३.९ प्रतिशत थियो। फिचले बलियो विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह र तुलनात्मक रूपमा कम सरकारी ऋणलाई नेपालको सबल पक्ष मानेको छ। जलविद्युत् क्षेत्रको सम्भावना र विकास साझेदारबाट प्राप्त सहुलियतपूर्ण ऋणले पनि नेपालको ऋण तिर्ने क्षमतालाई टेवा दिएको प्रतिवेदनमा उल्लेख छ।
कमजोर सुशासन, न्यून प्रतिव्यक्ति आय र प्राकृतिक विपद्को जोखिम भने रेटिङ सुधारका चुनौतीका रूपमा औँल्याइएका छन्। फिचका अनुसार गत भदौको बाढीले जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक, पर्यटन र औद्योगिक गतिविधिमा असर पारेको छ। बाढीबाट देशको कुल जडित विद्युत् उत्पादन क्षमताको १० प्रतिशतभन्दा बढी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। पुनर्निर्माण र पूर्वाधार पुनःस्थापनाले गति लिएसँगै आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि ५.२ प्रतिशत पुग्ने फिचको प्रक्षेपण छ।
आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादनको ३६ प्रतिशत पुगेको थियो। फिचका अनुसार नेपालको विदेशी मुद्रा सञ्चितिले आगामी दुई आर्थिक वर्षमा औसत १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्नेछ। पुनर्निर्माणका लागि आयात र सरकारी खर्च बढ्दा सार्वजनिक ऋण भने आर्थिक वर्ष २०८४/८५ सम्म कुल गार्हस्थ्य उत्पादनको ४८.२ प्रतिशत पुग्ने अनुमान छ। फिचले निर्वाचनपछिको बहुमतले नीतिगत सुधारको अवसर बढाएको उल्लेख गरेको छ। बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात सन् २०२६ को सेप्टेम्बर मध्यसम्म ५.७ प्रतिशत पुगेको भन्दै प्रतिवेदनले कर्जा असुलीमा बढ्दो दबाब पनि औँल्याएको छ।

सम्बन्धित खबर











