Skip to main content

दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षण र बजारिकरणका लागि प्रधानमन्त्रीलाई सांसद खनालको अनुरोध

रास्वपा सांसद केपी खनालले प्रधानमन्त्री बालेन्द्र शाहलाई अछामको दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षणमा ध्यान दिन आग्रह गरेका छन्। खनालले ‘नौ मुठ्ठे’ गाईको अध्ययन गरी व्यवस्थित गौशाला निर्माण र उत्पादनको बजारिकरणले सुदूरपश्चिमको आर्थिक समृद्धिमा योगदान पुग्ने बताएका छन्। सांसद खनालले सेती लोकमार्ग निर्माण, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु गर्नुपर्ने र वासुलिङ्ग सुगर मिल पुनः सञ्चालन आवश्यक रहेको कुरा उल्लेख गरेका छन्। १७ चैत, काठमाडौं।

रास्वपा सांसद केपी खनालले अछाम जिल्लामा मात्र पाइने दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षण सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग त्यहाँका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए। सो क्रममा उनले ‘नौ मुठ्ठे’ गाईबाट हुने उत्पादनको बजारिकरणका लागि पनि ध्यानाकर्षण गराएका थिए। सांसद खनालले लोपोन्मुख अवस्थामा रहेको यो विशिष्ट प्रजातिको गाईको अध्ययन र संरक्षणका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने बताए।

‘अछाममा मात्रै पाइने यो दुर्लभ गाईको अध्ययन गरी व्यवस्थित गौशाला निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘यसबाट उत्पादित गौमूत्र, गोबर, दूध र घ्यूलाई व्यवस्थित रूपमा बजारमा ल्याउन सके सुदूरपश्चिमको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ।’ अछामको रैथाने प्रजाति मानिने ‘नौ मुठ्ठे’ गाईलाई विश्वकै सबैभन्दा सानो प्रजातिको गाई मानिन्छ। सुदूरपश्चिमको विकास र आगामी बजेटमा समावेश गर्नुपर्ने योजनाका विषयमा भएको छलफलमा सांसद खनालले विभिन्न अन्य एजेन्डाहरू पनि प्रस्तुत गरेका थिए।

उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल पठनपाठन सुरु गर्नुपर्ने, टीकापुर–बझाङ–ताक्लाकोट जोड्ने ‘सेती लोकमार्ग’ निर्माणमा तीव्रता दिनुपर्ने र विगत २० वर्षदेखि बन्द रहेको वासुलिङ्ग सुगर मिल पुनः सञ्चालनमा ल्याउनुपर्ने विषय उठाएका थिए। छलफलका क्रममा सांसद खनालले महाकाली करिडोर, चिसापानी–मंगलसेन सडक खण्ड, खक्रौला नाकामा क्वारेन्टाइन व्यवस्थापन र छाडा चौपायाको उचित व्यवस्थापन जस्ता विषयहरू समेत उठाएका थिए।